sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » ठगी तथा अप्ठ्याराबाट बचाउन सम्झाई–बुझाई राहदानी !

खोटाङ भदौ–२९, बैदेशिक रोजगारीका क्रममा युवाहरु ठगीने तथा अप्ठ्यारोमा पर्ने गरेको भन्दै जिल्ला प्रशासन कार्यालय खोटाङबाट सम्झाईबुझाई मात्र राहदानी प्रदान गर्ने बताईएको छ । बैदेशिक रोजगारीको प्रक्रिया तथा सम्बन्धित बिषयमा केही पनि नजान्न निरक्षरहरु समेत राहदानी बनाउन आउने गरेकाले त्यस्ता युवालाई प्रयोजन बुझेर सम्झाई बुझाई मात्र राहदानी प्रदान गर्न शुरु गर्ने प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीले बताए ।
 कहिल्यै पनि जिल्ला बाहिर नगएकाहरु, सम्बन्धित देशका भाषा तथा नियम कानुनका बिषयमा कति पनि नबुझ्नेहरु समेत बैदेशिक रोजगारीका लागि तम्सिने र कदम–कदममा ठगीने वा अप्ठ्यारोमा पर्ने गरेकाले न्युनिकरणका लागि सोधबुझ तथा सोंचबिचार गरेर मात्र राहदानी बितरण गर्नु उपयुक्त हुने प्रजिअ अधिकारीको भनाई छ । अध्यागमन बिभागबाट प्रमुख जिल्ला अधिकारीका भूमिकामा केही दिन अगाडी मात्र जिल्ला आएका अधिकारीका अनुसार यसै पनि राहदानी जस्तो महत्वपुर्ण कागजात प्रयोजन नबुझी वा बिचार नगरी बितरण गर्दा अप्ठ्यारो स्थिती आउन सक्ने हुन्छ ।  
कतिपय एजेण्टहरु कमिसनका लागि सोझा युवाहरुलाई राहदानी समेत आफै बनाईदिएर बैदेशिक रोजगारीमा पठाउने हुनाले पनि हरेक ठाउँमा उनिहरु ठगिनुका साथै अप्ठ्यारोमा पर्दछन् । गाउँठाउँमै पनि केही नबुझ्ने त्यस्ता युवाहरुलाई बैदेशिक रोजगारीका लागि राहदानी प्रदान गर्दा ठगीने र अन्य अप्ठ्यारोमा पर्न सक्ने धेरै सम्भावना हुने हुनाले सम्झाई बुझाई मात्र प्रदान गर्नु आवश्यक भएको प्रशासनले जनाएको छ । यदि हरेक हिसाबले बैदेशिक रोजगारीका लागि असक्षम युवा भए राहदानी नै रोक्न उचित हुने प्रमुख जिल्ला अधिकारी बताउँछन् । एक पटक सोधबुझ तथा सम्झाई–बुझाई गर्दा मात्र पनि त्यस्ता युवाहरुले बैदेशिक रोजगारको बिषयमा एक पटक सोंच्न बाध्य भई केही हदसम्म सचेत हुने  गर्दछन् ।
अबैधानिक तबरबाट मान्छे ओसार्न नदिने 
“सकेसम्म स्वदेशमै रोजगारी गरौं यदि बिदेश जाने नै भए सीप तालिम लिएर मात्र जाउँ ।” भन्ने नारासहित गाउँमै राजगारीको सिर्जना गर्न उत्प्रेरित गर्दै आएका सुरक्षित आप्रवासन परियोजना सामीका कर्मचारीहरुसँग छलफल गर्दै प्रजिअ अधिकारीले बैदेशिक रोजगारीका  क्रममा हुने ठगी न्युनिकरणमा सबैको सहकार्य हुनुपर्ने उल्लेख गरे । बिदेश जान तयार भईसकेकाहरुका लागि सुरक्षित, उपलब्धीमुलक तथा भरपर्दो बनाउन जिल्लामा काम गर्दै आएका सामीका कर्मचारीहरुसँगको छलफलमा प्रजिअ अधिकारीले अबैधानिक दलालहरुलाई कुनै पनि हालतमा कानुनी दायरामा ल्याउने बताए । अबैधानिक दलालहरुलाई कमिसनका लागि प्रक्रिया नपु¥याई अबैधानिक तबरबाट मान्छे ओसार्न नदिने उनको भनाई छ ।  
यो बर्ष मात्र ४३ वटा ठगीको केश
सुरक्षित आप्रवासन परियोजना(सामी), सुचना तथा परामर्श केन्द्र खोटाङमा यो बर्ष बैदेशिक रोजगारका क्रममा भएको ४३ वटा ठगीका घटना दर्ता भएको छ । बैदेशिक रोजगारमा जान तयार भईसकेका युवाहरुलाई सूचना तथा परामर्श दिँदै आएको केन्द्रमा आएका सो घटनामध्ये १२ वटा घटनाको भने क्षतिपूर्ति दिलाईएको परामर्शकर्ता अम्बिका दाहालले जनाए । दिक्तेलस्थित सुचना केन्द्रले पिपुल्स फोरमसँगको समन्वयमा ४३ मध्ये १२ वटा केशमा बैदेशिक रोजगार बिभागबाट क्षतिपूर्ति दिलाउने, म्यानपावरबाट राहदानी फिर्ता गराउने तथा बिदेशमा नेपालमा भनेअनुसारकै काम–दाम दिलाउने कार्य गरेको परामर्शकर्ता दाहालको भनाई छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post