sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » ससुरालाई मरनासन्न हुनेगरी कुट्ने व्यक्ति नै ज्यान मार्ने उद्योगका फरार अपराधी

खोटाङ, ४ असोज । ज्यान मार्ने उद्योगमा संलग्न रही फरार रहेका खोटाङका एक व्यक्ति अर्को घटनापछि पक्राउ परेका छन् । २०६९ साल पुस १४ गते रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित त्रिवेणीचोकका होटल व्यवसायी योगराज लुईटेललाई मरनासन्न हुनेगरी कुटपिट गर्ने सोही नगरपालिका–१५ का ३२ वर्षीय गणेश खनाललाई प्रहरीले चार वर्षपछि पक्राउ गरेको हो ।

लुईटेललाई कुटपिट गर्नासाथ पक्राउ परेका खनाल अदालतको आदेशमा पाँच हजार धरौटी तिरेर तारेखमा छुटेका थिए । अनुसन्धानको घेरामा रहेका खनाललाई अदालतले २०७१ साल कातिक १८ गते चार वर्ष ११ महिना चार दिन कैद सजाय सुनाएको थियो ।

अदालतको फैसला लगत्तै फरार रहेका खनालले पुनः गत भदौ २५ गते ससुरालाई मरनासन्न हुनेगरी कुटपिट गरेर फरार भएका उनलाई प्रहरीको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको जनाइएको छ । श्रीमतीसँगको मनमुटावमा खनालले सोही नगरपालिकाको वडा नम्बर–३ बाम्राङ ससुराली आएर ससुरा पदमबहादुर पाण्डेलाई ज्यान मार्ने मनसायले निर्घात कुटपिट गरेको स्थानीयले बताएका छन् ।
कुटपिट तथा विभिन्न घटनामा संलग्न खनाललाई भदौ ३१ गते काठमाडौंको कोटेश्वरस्थित मित्रता होटल एण्ड लजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । “काठमाडौंमा पक्राउ परेका खनाललाई अड्डासार गर्दै बुधबार जिल्ला ल्याइयो ।” उहाँले भन्नुभयो, “जिल्ला ल्याउना साथ अदालतमा हाजिर गराएर बुधबार नै कारागार पठाइएको छ ।”
कैद सजाय तथा जरिवाना तिर्न बाँकी फरार व्यक्ति पक्राउ अभियान थालेको प्रहरीले दुई महिनाको अवधिमा आठ जना पक्राउ गरेको जनाइएको छ । साउन र भदौ दुई महिनाको अवधिमा पक्राउ परेका उनीहरुबाट १८ हजार ४५३ रुपैयाँ २५ पैसा जरिवाना रकमसमेत असुल गरिएको अदालतले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post