sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » पर्यटकीयस्थल बराहपोखरीमा दर्शनार्थीको भीड

खोटाङ, १४ कात्तिक । हरिवोधनी एकादसीको अवसर पारेर खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा ठूलो मेला लागेको छ । बराहपोखरीमा मेला भर्न र शंखेश्वरी महादेवको दर्शन गर्न जिल्लाभित्र तथा बाहिरी जिल्लाबाट आएका दर्शनार्थीको बाक्लो भीड लागेको छ ।

बराहपोखरीको पानीले स्नान गर्दा रोगव्याधी निको हुने तथा आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक मान्यता अनुसार बराहपोखरीमा दर्शनार्थी तथा धामीझाँक्रीको भिड लाग्ने गरेको छ । बराहपोखरीमा लागेको मेलामा ढोल, झ्याम्टा र ढ्याङ्ग्रो बजाउँदै सयौंको संख्यामा धामी झाँक्रीको टोली आउने गरेका छन् भने, शंखेश्वरी महादेवको दर्शन गर्न आउने दर्शनार्थीले हजारौं जोडी परेवा उडाउने गरेका छन् ।

हरेक वर्षको हरिवोधनी एकादसीका दिन ठूलो मेला लाग्ने बराहपोखरीको पश्चिम किनारामा रहेको शंखेश्वर महादेव मन्दिरको वरिपरी आफ्नो पितृको सम्झनामा भजन कृर्तन र रुद्रीपाठसमेत गर्ने प्रचलन छ । मेला भर्न, घुमफिर गर्न, दर्शन गर्न र चन्द्राकार आकृतिको पोखरीको दृश्यावलोकनका लागि बराहपोखरी चर्चित छ ।

बराहपोखरीमा लाग्ने मेला भर्न छिमेकी जिल्ला उदयपुर, सोलुखुम्बु, भोजपुर, ओखलढुङ्गा, सङ्खुवासभा लगायतका हजारौं दर्शनार्थी आउने गरेका छन् । धार्मिक आस्था र पर्यटकीय सौन्र्दयता बोकेको बराहपोखरीमा छिमेकी देश भारत, भुटान, चिन, बङ्गलादेश, श्रृलङ्का लगायतका पर्यटक तथा दर्शनार्थीसमेत आउने गरेका छन् ।

बराहपोखरीमा एकादसीको दिन ठूलो मेला लाग्ने गरेको भएपनि यस वर्ष तीन दिन अघिदेखि मेला सुरु भएको स्थानीयले बताएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरीमा हरेक रामनवमी, शिवरात्री, बालाचतुर्दशी र माघे संक्रान्ति दिन सतबीज छर्ने चलन छ ।

बाह्रै महिना टम्म पानी भरिएको अवस्थामा रहने बराहपोखरीमा संसारमै दुर्लभ मानिएको रातो माछा पाइन्छ । बराहपोखरीको संरक्षण र विकासका लागि यस वर्ष रु ४५ लाख बजेट विनियोजन गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post