sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » खोटाङको तुवाचुङपछि ओखलढुंगाको उँबुमा बन्दैछ किराती साँस्कृतिक प्रतीक

गणेश राई
मंसिर–१४, ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–३ उँबुगाउँमा ३९ फिट अग्लो किराती सांस्कृतिक प्रतीक स्वालेवा (चिन्डो) को मूर्ति स्तम्भ निर्माण भइरहेको छ ।
पर्यटन प्रवद्र्धनको उद्देश्यसहित सम्पदा निर्माण थालिएको यो स्थल सदरमुकाम ओखलढुंगादेखि २१ किलोमिटर दक्षिणमा रहेको छ । मानेभन्ज्याङ गाउँपालिकाका नवनिर्वा्चित अध्यक्ष मोतीराज राई र उपाध्यक्ष सबिता राईले संयुक्त रुपमा उक्त स्तम्भको शिलान्यास गरेका थिए ।
वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको पहलमा उक्त सांस्कृतिक स्तम्भ निर्माण सुरु भएको हो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभागको प्राविधिक सहयोगमा स्तम्भ निर्माण गरिएको हो ।
प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख प्राज्ञ धनबहादुर याक्खाको नेतृत्व सात सदस्यीय टोलीले ‘स्वालेवा मूर्तिकला कार्यशाला–२०७४’ आयोजना गरी निर्माण सुरु गरेको हो । टोलीमा इन्दिरा श्रेष्ठ, शिव न्यौपाने, नरेश थुलुङ, निराजन मानन्धर, रन्जित थापामगर, गणेशबाबुलगायत मूर्तिकार संलग्न छन् ।
स्तम्भ निर्माणका निम्ति साविक उँबु गाउँ विकास समितिका पूर्वअध्यक्ष लक्ष्मण राई तथा उनका चार दाजुभाइ परिवारले १ रोपनी १४ आना जग्गा उपलब्ध गराएको छ । स्वालेवा स्तम्भ (मूर्ति) निर्माण समितिका अध्यक्ष शुभचन्द्र राईका अनुसार झन्डै ६० लाख रुपैयाँको लागतमा स्तम्भ निर्माण गरिदैछ ।
‘सबैतिर जातीय पहिचानको कुरो उठेको बेला हामीले आफ्नो सांस्कृतिक पहिचान जोगाउन यो पहल गरेका हौं,’ उनले भने, ‘यस निम्ति देश, विदेशका नाता आफन्त, सरकारको विभिन्न निकाय गुहारेका छौं ।’ सिमेन्ट, बालुवा, रड, गिटी प्रयोग गरी निर्माण थालिएको स्वालेवा स्तम्भ वरिपरि पर्खाल घेराबार हुनेछ । सांस्कृतिक प्रतीकका अन्य मूर्तिकला, फूलबारी, संग्रहालय निर्माण हुने राईले जनाएका छन् ।
संस्थाको अनुरोधमा देश–विदेशमा रहेका नेपालीहरुबाट आर्थिक सहयोग जुटाइएको हो । त्यसैगरी सांसद रामहरि खतिवडाले स्तम्भ निर्माणमा सांसद विकास कोषबाट १० लाख रुपैयाँ उपलब्ध गराएका छन् । जग्गादाता सदस्य तथा स्तम्भ निर्माण अभियन्ता मुम्चे राई (बिद्रोही साइला)का अनुसार हालसम्म पाँचलाख रुपैयाँ आर्थिक सहयोग जुटेको छ ।
‘सुरुमा स्तम्भ निर्माणको मात्र ३० लाख बजेट स्टिमेट गरिएको हो,’ अभियन्ता राईले भने, ‘अहिले निर्माण थालिसकेपछि सम्पूर्ण व्यवस्थापनका निम्ति दोब्बरभन्दा बढी रकम लाग्ने भएको छ । हामीले स्तम्भ निर्माण गर्ने आँटिसकेको हुनाले यो रकम जसरी पनि जुटाउने छौं ।’
गाउँपालिकाको अध्यक्षमा निर्वा्चित भएपछि पहिलो पटक आफ्नो समुदायको पहिचान स्तम्भ शिलान्यास गरेको अध्यक्ष राईले बताए ।
‘म स्वयं वाम्बुले राई परिवारको सदस्य हुँ, भरखरै गाउँपालिका प्रमुखमा निर्वा्चित भएर पहिलो पटक पहिचानका निम्ति स्वालेवा स्तम्भ शिलान्यास गर्न पाउँदा खुशी छु,’ अध्यक्ष राईले आफ्नो कार्ययोजनाबारे भने, ‘देशको मुख्य सम्पत्ती भनेको जनता, उनीहरुको भाषा, धर्म, लोकसंस्कृति हो । त्यसैले गर्दा म वाम्बुले राई समाजको मात्र नभनौं अन्य जातजाति, भाषाभाषीहरुको पनि भाषा, लोकसंस्कृति संरक्षण, संवद्र्धनमा मेरो जोड रहने छ ।’
त्यसैगरी नवनिर्वा्चित उपाध्यक्ष सबिता राईले उँबु गाउँको सडकदेखि अन्य निर्माणका विषयलाई थाती राखेर स्वालेवा स्तम्भ निर्माणलाई प्राथमिकतामा राखेको बताइन् । ‘अब यस्तै खाले सामूहिक सांस्कृतिक पहिचानको प्रतीक निर्माण क्रमलाई अन्य जनमानसमा पुर्याउने जमर्को गर्नेछु,’ उनले भनिन् ।
प्राज्ञ याक्खाले ललितकला प्रज्ञा प्रतिष्ठानको मूल उद्देश्य सरकारको विभिन्न निकायले कुनै पनि ठाउँ र समुदायको विकास गरे सँगसँगै त्यहाँको कलाको विकास गर्नु रहेको बताए । ‘त्यही क्रममा पहाडी क्षेत्रको वाम्बुले राई समुदायमा आइपुगेका छौं,’ उनले भने, ‘प्रतिष्ठानले संघीय प्रदेशका विभिन्न ठाउँ र समुदायको ऐतिहासिक, सांस्कृतिक पक्षलाई केलाएर कला निर्माणमा सहयोग गर्दैजाने छ ।’
स्वालेवा स्तम्भ निर्माण उपभोक्ता समितिका संयोजक सौराज राईका अनुसार निर्माण कार्यमा सबै पक्षको सहयोगले तीव्रगतिमा अघि बढेको बताए । ‘आफ्नो कलासंस्कृति, पहिचान झल्किने स्तम्भ बन्ने कार्यमा पहिलो पकट खटेका छौं,’ उनले भने, ‘यो परिकल्पनालाई साकार गर्न सबै जनहरुलाई अनुरोध गर्दछु ।’ समुद्री सतहदेखि करिब १७ सय मिटर उचाईमा यो स्तम्भ निर्माण स्थल रहेको छ । यहाँबाट उत्तरतर्फ सोलु, पूर्वतर्फ खोटाङ र भोजपुर, दक्षिणतर्फ उदयपुर तथा पश्चिमतर्फ सिन्धुली जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ ।
दस्तावेज ओखलढुंगाका थुम
मिथकअनुसार वाम्बुले राईहरूको उत्पत्ति स्थल वामद्याल (उँबु) र लिब्जु जंगलसित जोडिएको छ । नेपालको संविधान (२०७२)मा ओखलढुंगा जिल्लालाई संघीय प्रदेश–१ मा रहेको छ । नेपाल सरकार सूचना विभागद्वारा २०३१ सालमा प्रकाशित ‘मेचीदेखि महाकाली भाग–१’ पुस्तकमा ओखलढुंगा जिल्ला सन् १७५६ तिर काठमाडौं उपत्यकाका राज्यहरूमाथि कब्जा गर्नु अगाडि नै पृथ्वीनारायण शाहको अधिनमा आएको उल्लेख छ । उक्त पुस्तकमा ओखलढुंगाको आठवटा थुमहरू बुङनाम, तलुवा, च्यानाम, सोलु, तिल्पुङ, चिसंखु, चुप्लु र चौरास उल्लेख गरिएका छन् । यी थुमहरूको ऐतिहासिकताबारे खोजी भएको छैन ।
बेलायती अध्यता ब्राइन हुटन हड्सनको कृतिमा सन् १८५७ मा प्रकाशित ‘कम्पेरेटिभ भकवलरी अफ दि डाइलेक्टस् अफ किराती ल्यांग्वेज’ पुस्तकमा ‘चौरास्या’ राईको शब्दावली संलग्न राखेका छन् । वाम्बुले राईहरू आफूलाई किरात राजा वाङ्बाहाङका सन्तान ठान्दछन् । शासनसत्ताको अन्तिम बागडोरका रूपमा चौरासेघरलाई लिन सकिन्छ ।
अमाल बागवर्ण राईले श्री ३ हरूलाई रिझाएर भूमि कर उठाउने र वार्षिक चार सय चौरासी रूपैयाँ बुझाउँथे । यही चौरास क्षेत्रमा बसोबास गर्ने किरातीलाई ‘चौरासे राई’ भनेर चिनाए ।
वाम्द्याल अन्य पहाडी गाउँझै उत्तर–दक्षिण भिरालो छ । गाउँको शिरमा १९ सय २२ मिटर उचाईमा लिब्जु पहाड (धार्मिक स्थल) रहेको छ । उक्त लिब्जु देवस्थलमुनि वामद्याल (उँबुगाउँ)को ड्याबल्वामटारमा ‘वाम्बुले पहिचान स्वालेवा स्तम्भ (मूर्ति) पार्र्क’ निर्माण थालिएको छ ।
मुन्धुम र स्वालेवा
‘स्वालेवा’ भनेको लहरामा फल्ने पेट फुकेको घाँटी सानो भई लामो हुने तुम्बा÷लौका जातको एक प्रकारको फल अर्थात् चिन्डो हो । यो फल छिप्पिएपछि किराती जातिले पानी बोल्ने, मुन्धुम विधिअनुसार पित्रिकार्य, विवाह कार्य, कुलदेउताको पूजा जस्ता सांस्कृतिक कर्महरु गर्दा मुन्धुमीले चिन्डोमा जाँड, जिर्मा आदि राखेर मुन्धुम फलाक्ने गर्दछन् ।
स्तम्भ (मूर्ति) निर्माणको उद्देश्यहरु
क) वाम्बुले राईहरूको जातीय चिनारी र पहिचान स्थापित गर्न ।
ख) वाम्बुले राईहरूले आफ्नो धार्मिक, साँस्कृतिक कार्यहरूमा प्रयोग गर्ने गरेका प्राकृतिक फल स्वालेवाको महत्वलाई प्रचार प्रसार गर्न तथा स्वालेवालाई वाम्बुले पहिचानसँग स्थापित गर्न ।
ग) वाम्बुले राईहरूले प्रयोग गर्ने गरेका ऐतिहासिक, धार्मिक, साँस्कृतिक सामग्रीहरू प्रदर्शन गर्न ।
घ) वाम्बुले राईहरूमा भावनात्मक सम्बन्ध स्थापित गराउन तथा वाम्बुले राईहरूलाई संगठित बनाउन ।
ङ) वाम्बुले राईहरूको भावी पुस्तालाई वाम्बुले राईहरूको जातीय, धार्मिक, साँस्कृतिक महत्वबारे परिचित गराइ पुर्खाको विरासत हस्तान्तरण गर्न ।
च) वाम्बुले राईहरूको ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक, मौलिक सामाग्रीहरूको संकलन, संरक्षण सम्बद्र्धन गर्न ।
छ) वामद्याललाई पर्यटकीय स्थलको रूपमा स्थापित गर्न ।
ज) वाम्बुले राई सम्बन्धी पुस्तक, दस्तावेज, साहित्यिक सामग्रीहरू संकलन गरी अध्ययन केन्द्रको रूपमा पार्कलाई स्थापित गर्न ।
स्तम्भ निर्माण पछिको अपेक्षित उपलब्धी
क) वाम्बुले राईहरूले आफ्नो धार्मिक, साँस्कृतिक कार्यहरूमा प्रयोग गर्ने गरेको स्वालेवाको महत्वबारे सबैले थाहा पाउने छन् ।
ख) वाम्बुले राईहरूको जातीय चिनारी र पहिचान स्थापित हुने छ र वाम्बुले राईहरूबारे संसारभरि प्रचार प्रसार हुनेछ ।
ग) वाम्बुले राईहरूले प्रयोग गर्ने गरेका ऐतिहासिक, धार्मिक, साँस्कृतिक सामग्रीहरूको संकलन, संरक्षण संवद्र्धन हुनेछ र सो सामाग्रीहरूबारे सबैलाई जानकारी हुनेछ ।
घ) यो वाम्बुले पहिचान स्वालेवा स्तम्भ पार्कले वाम्बुले राईहरूमा भावनात्मक सम्बन्ध बढाउने छ र वाम्बुले राईहरूलाई संगठित बनाउन बल पुर्याउने छ ।
ङ) वाम्बुले राईहरूको भावी पुस्तालाई वाम्बुले राईहरूको जातीय, धार्मिक, साँस्कृतिक महत्वबारे यस स्तम्भले बुझ्न सहयोग गर्नेछ र उनीहरू आफ्नो धर्म, संस्कार संस्कृतिप्रति सचेत बनी सो प्रति गर्व गर्ने तथा यसको संरक्षण संवद्र्धनमा लाग्ने छन् ।
च) यो वाम्बुले पहिचान स्वालेवा स्तम्भ पार्क निर्माण भएपछि देश विदेशका पर्यटकहरू यसलाई अवलोकन गर्न आउनेछन् । यस स्वालेवा स्तम्भ पार्कको प्रचार प्रसार गर्नेछन् जसले गर्दा वाम्बुले राईहरूको चिनारी र पहिचान स्थापित हुनेछ ।
छ) यो वाम्बुले पहिचान स्वालेवा स्तम्भ पार्क निर्माण भएपछि वामद्यालमा पर्यटकहरूको आगमन बढ्नेछ । व्यापार व्यावसाय बढ्नुका साथै आय आर्जन हुनेछ । (सार्वजानिक डट कमबाट)

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post