sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » शासकको सकुनी चाल, आदिवासीको हनुमाने ताल – खुक्सङ खम्बुको लेख

  
                        खुक्सङ खम्बु                                                                                                                        
 भूमिका

हिन्दुहरुको धार्मिक ग्रन्थहरुमा अनेकौं क्यारेक्टर भएका हजारौं पात्रहरु भेटिन्छन् । रमाइलो पक्ष त के छ भने ती मध्य सकुनी र हनुमान पात्र–क्यारेक्टर भने वर्तमान नेपालको शासक र आदिवासी जनजातिको चरित्रसँग ठ्याक्कै मेल खाँदो रहेछ । आग्रह–पूर्वाग्रह, आरोप–प्रत्यारोप भन्दा पर रहेर सकुनी र हनुमानको चरित्रसँग शासक र आदिवासीको चरित्रलाई दाँज्ने मात्र यस लेखमा प्रयत्न गरिने छ । अरु कुरा त विज्ञ पाठकहरुले बुझ्नु नै हुनेछ । 
सकुनी
सकुनी महाभारतको एक खलपात्र हुन् । साइनोले कौरव र पाण्डवको मामा पनि हुन् । जुवामा छलकपट गरि पाण्डवलाई वनबास्, कौरवलाई राज्य सत्तामा सर्वत्र राज गराउनु यिनको निक्कै ठूलो योगदान छ । उनी जालझेल–छलकपट–षड्यन्त्र गर्ने कलामा साह्रै निपुण मानिन्छन् । जस्तो कि, नेपालका शासकहरु । नेपालका शासकहरुको चरित्र ठ्याक्कै सकुनीको जस्तो लाग्छ । जनता (आदिवासी जनजाति, मधेसी) लाई ढाँटेर छलकपटपूर्ण तरिकाले यिनीहरुले सत्ता चलाइरहेका छन् । जनतालाई छल्न चुनावमा एउटा कुरा गर्छन्, चुनाव पछि अर्कै कुरा गर्न थाल्छन् । घोषणपत्रमा एउटा कुरा लेख्छन्, व्यवहारमा ठीक उल्टो गर्छन् । आदिवासी जनजातिको इमान्दारी र सोझोपनको फाइदा उठाउँदै सकुनी नेताहरुले गर्नु सम्म नेपालमा मोज गरिरहेका छन्, देशमा उनीहरुकै मनपरी छ । आदिवासी जनजातिहरुको चैं नागीमा चौंरी चराउँदै, पहाडको पाखोमा हलो जोत्दै, त्रिशुलीको खोंचमा गिठ्ठा खोज्दै जुनी बित्छ । आदिवासीको यो दुःख शासकलाई खुबै मन पर्छ । वर्तमान नेपालको शासन–सत्ता निश्चित् जाति (बाहुन र क्षत्री) को हातमा छ । उनीहरुको प्रथम कर्म आफ्नो जातिको हितमा काम गर्नु हो । नीति, निर्माण, संविधान, कानुन बनाउनु हो । स्थानीय तह, प्रदेशको पुनर्संरचना बाहुनवादी संविधानको जवर्जस्त घोषणा यसको छर्लङ्ग उदाहरण हो । विभेदमा पारिएकाहरुलाई सम्बोधन गरी राज्यको पुनर्संरचना बनाइनुपर्नेमा शासक जातिकै हितमा फेरि पनि संरचना बनाइएको छ, संविधान घोषणा गरिएको छ । विज्ञ पाठकज्यु ! अर्को सानो उदाहरण पनि यहाँनिर राख्ने अनुमति चाहान्छु । ६४७ वटा आदिवासी (राई, लिम्बु र धिमाल) को चिहान खनी झापामा आदिवासी रङ्गशाला बनाइँदै छ । रङ्गशालाको नाम आदिवासी रङ्गशाला नामाकरण गर्ने शर्तमा आदिवासीहरुले आफ्नो आफन्तको चिहान खन्न दिएका हुन् । तर के.पी. ओली नेतृत्वको सरकारले मदन भण्डारी रङ्गशाला नामाकरण गर्न खोज्यो । यस्लाई के भन्ने ? सत्तासीन के.पी. ओलीहरु नेपाललाई पूरै बाहुनमय बनाउन चाहन्छन् भन्ने सानो सबुद् हो यो । आदिवासी र मधेसीको अस्तित्व, पहिचान र स्वाभिमान स्विकार्न तयार छैनन् सकुनी शासकहरु । लेखनाथ पौड्यालले लेखे झैं ‘मैं खाउँ, मैं लाउँ, अरु सबै मरुन् दुर्वलहरु’ भन्ने खालको व्यवहार छ उनीहरुको । अरु जातिको पहिचान÷अस्तित्वलाई नस्विकार्ने सकुनी नेताहरुको अतिवादी चिन्तन भोलिका दिनमा उनीहरुलाई नै निक्कै भारी सावित् हुने पक्का छ । 
हनुमान
रामायणमा हनुमान भन्ने अर्को पात्र भेटिन्छ । प्रभु भनेपछि हुरुक्कै हुने । एक आज्ञामा पहाडै बोेकी ल्याउने । उधुम् आज्ञाकारी । वचनको पक्का । जस्तो कि, वर्तमान ठूला पार्टी भनिएका पार्टीमा लागेका आदिवासी जनजाति मुलका नेताहरु । उनीहरु आफ्नो प्रभुले भनेपछि व्यक्तिगत स्वार्थसिद्धीका निम्ति जे गर्न पनि तयार हुन्छन् । उनीहरुलाई स्वाभिमान, पहिचान भनेको के हो ? हक, अधिकार, समानता भनेको के हो ? वास्ता हुन्न । जस्ले पहिल्यैै स्वाभिमानलाई टाँड्नामा सुकाइ राखेर प्रभुको टाङ मुनि मुन्टो घुसारी सकेका छन् । आफ्नो पहिचानको बारेमा केही बोलौं ? प्रभु रिसाउँछ । प्रभु रिसायो भने पर्नु फसाद् पर्छ । आफ्नै पार्टी र समुदायका आफू भन्दा जुनियरलाई टपक्क टिपेर प्रभुले सभासद्, मन्त्री बनाइदिन्छ । आफू त हेरेको हे¥यै । थाङ्नामै सुताइदिन्छ । सुते बरु आफ्नै जाति थाङ्नामा सुतोस् । प्रभुको आशिर्वाद प्राप्त गरी आफू त जुनसुकै हालतमा भए पनि सभासद्, मन्त्री त बन्नै पर्छ । सभासद्, मन्त्री नभए पछि आफ्नो समुदायमा नाक फुलाएर हिँड्न पाइएन । धाकधक्कु लाउन पाइएन । अनि प्रभुलाई रिस उठ्ने काम गर्नु भो त ? फलाना जातिबाट सभासद्, मन्त्री, सभामुख, राष्ट्रपति भएर गिनीज बुकमै नाम लेखाउने जो उनीहरुको महान उद्देश्य छ । यस्ता महान विचार भएका आदिवासी हनुमानहरु आजभोलि बग्रेल्ती भेटिन्छन् । धेरै आदिवासी हनुमान मध्य यहाँनेर सुवास नेम्वाङ (हनुमान) को थोरै चर्चा गर्न प्रासङ्गिक र न्यायपूर्ण देखिन्छ । हनुमाने सुवास नेम्वाङले आदिवासी जनजाति र मधेसी बहुल निक्कै समावेसी पहिलो संविधानसभालाई विघटन गरी बाहुन बहुल दोस्रो संविधान सभाका दुईचार जना बाहुनले बनाएका बाहुनवादी संविधान तदारुकताका साथ घोषणा गरी आफ्नो प्रभुको राम्रै आज्ञा पालन गरे । सेवा गरे । यस बापत् उनलाई आफ्नो प्रभुको निगाहामा आगामी दिनमा (व्यक्तिगत) ठूलै चोक्टो हात पर्ला । भौतिक सुख, सुविधा पनि प्राप्त होला । तर लिम्बुवानका राई, लिम्बुहरु सुवास नेम्वाङ सभामुख भएको खोक्रो आडम्बर पालेर अधिकार विहिन, पहिचान विहिन कहिले सम्म बाँच्न सक्ने हुन् ? थारुहरु शासकको अन्याय÷अत्याचार खप्दै कहिले सम्म बस्ने हुन् ? मधेसीहरु शासकको विभेद सहँदै कहिले सम्म बाँच्लान् ? कुरा त त्यतातिर पो छ । देश शासक जातिको मात्र पेवा होइन । न त सकुनी र हनुमाने नेताकै बिर्ता हो । बेलैमा चेतना भया ।  
निष्कर्ष
कवि भूपि शेरचनले निक्कै पहिल्यै लेखिसकेका छन्, – ‘हामी बीर छौं तर बुद्धु छौं । हामी बुद्धु नभइकन कहिल्यै बीर हुन सकेनौं ।’ भूपि शेरचनले यो कवितामा हामी आदिवासीकै हनुमान प्रवृत्तिलाई देखेर व्यङ्ग्य गरेका हुन् कि झैं लाग्छ । हो, साँच्चै हामी बुद्धु भयौं र बीर सावित् भयौं । तर बिबेकलाई कहिल्यै प्रयोग गर्न खोजेनौं । अरुको हनुमान बन्नमै रमायौं । ‘हामी सिरिफ क्यारिम बोर्डका गोट्टी हौं, स्ट्राइकरले जता हान्यो त्यतै उछिट्टिनु पर्ने ।’ भूपिले यसो पनि भनेका छन् । महान कवि भूपिको मृत्यु भएको धेरै भइसक्यो । तर अझै हामी आदिवासीहरु क्यारिम बोर्डको गोट्टी र हनुमान बन्नमै रमाइरहेका छौं । केही शासक बाहुन सकुनी र केही आदिवासी हनुमान बन्दा उनीहरुको व्यक्तिगत स्वार्थपूर्ति त अवस्य होला । तर सिङ्गो समुदाय र देश त उँधो लाग्ने रहेछ नि । बहुदल आए यता २५, ३० वर्षे अनुभवले हामीलाई यही पाठ सिकाउँछ । देशलाई सबैको साझा बनाउन, साझेदारीमा सञ्चालन गर्न अब शासक बाहुनहरु सकुनीको स्तरबाट माथि उठ्न नितान्त जरुरी छ भने समानता, अधिकार र पहिचान प्राप्तिको निम्ति आदिवासीहरु पनि हनुमानको स्तर भन्दा माथि उठ्न सक्त जरुरी छ । सबै कुराको बाधक त शासकको सुकनी चाल र आदिवासीको हनुमाने ताल नै हो । जति छिटो यसखाले चिन्तन र प्रवृत्तिलाई हामीले त्याग्न सक्छौं ? त्यसैमा नेपाल देश र तपाईँ, हामी सबैको कल्याण छ । 


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post