sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » अस्पतालको करोडौंको उपकरण २६ हजारमा लिलाम प्रकरण ढिसमिस, स्थानीय असन्तुष्ट

खोटाङ पुस–११, जिल्ला अस्पताल खोटाङको करोडौंको उपकरण ‘कौडीको भाउ’मा लिलाम प्रकरण अन्ततः ढिसमिस भएको छ । जिल्ला अस्पतालतर्फका ७२ र जनस्वास्थ्य कार्यालयतर्फका ४० गरी १ सय १२ प्रकारका सामान तथा उपकरण २६ हजार ५ सयमा लिलाम बिक्री गरिएको घटनाको विषयमा छानबिन गर्नका लागि स्वास्थ्य मन्त्रालयले गठन गरेको छानबिन समितिले ‘फल्ट’ नदेखिएको प्रतिबेदन बुझाएपछि दोषी पत्ता नलाग्दै लिलाम प्रकरण ढिसमिस भएको हो ।

मर्मत गर्दा काम लाग्ने एक्स–रे, भिडियो एक्स–रे, जेनेरेटर, एनेस्थेसिया ट्रली, बेड लगायतका उपकरण तथा सामान अस्वभाविक मूल्यामा लिलाम बिक्री गरिएको भन्दै आवाज उठेपछि स्वास्थ्य मन्त्रालयका उपसचिव बाबुराम लामीछानेको संयोजकत्वमा बनेको समितिले छानबिन गरेको थियो । सार्वजनिक सम्पत्तीलाई अत्यन्तै न्यून मूल्यमा कसैलाई थाहै नदिइ बिक्री गर्नमा संलग्न दोषीलाई पत्ता लगाउन र कारबाहीका लागि चर्को आवाज उठेका थिए । छानिबिन समितिले लिलाम प्रकरणमा कमजोरी नभएको प्रतिबेदन बुझाएपछि जिल्ला प्रशासन कार्यालयले शिलबन्दी गरिएका सामान हालै खोलिदिएको छ ।

कार्यालय प्रमुख संयोजक रहेको लिलाम बिक्री उपसमितिले २०७२ फागुन १६ गते अस्पतालमा थन्किएका उपकरण तथा सामान लिलाम बिक्रीका लागि १५ दिने सूचना टाँस गरेर २०७२ चैत्र २ गते लिलाम बिक्री गरेका हुन् ।

अस्पतालका तीन चार ट्रक उपकरण लिलाम बिक्री गरिएपनि सरोकारवालालाई भने ६ महिना पछि मात्र मात्र जानकारी भएको थियो । जिल्ला अस्पतालले लिलाम बिक्री गरेको कतिपय उपकरण मर्मतपछि दिक्तेलमै खोलिएको एक निजी अस्पतालमा उपयोगमा ल्याउन लागिएको सार्वजनिक भएपछि अस्पतालले कम मूल्यामा उपकरण लिलाम गरेको खुलासा भएको थियो । अस्पताल बिकास समितिलाई समेत थाहा नदिइ उपकरण लिलाम गरिएको थियो । अस्पताल बिकास समितिलाई नै जानकारी नदिइ सस्तो मूल्यमा जिल्ला अस्पतालको उपकरण सामुदायिक अस्पतालमा पु¥याइनुमा मिलेमतोको आशंका गरिएको छ ।

सार्वजनिक महत्वका सम्पत्ती सुटुक्कै बिक्री गरिएको भन्दै उद्योग बाणिज्य संघ, खोटाङ एकता सेवा समाज, नागरिक समाज र राजनैतिक दलले चर्को बिरोध गरेपछि प्रशासनले सामान खरिदकर्ता रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलका बिनोद दाहाल, बाम्राङका राजन केसी र अल्छेढुंगाका जगतबहादुर खत्रीको घरमा राखिएका उपकरण २०७३ साल असोज १२ गते सिलबन्दी गरेको थियो । लिलाम प्रकरणमा छानबीन समितिले कमजोरी नपाइएको प्रतिबेदन बुझाएसँगै जिल्ला अस्पतालसँगको समन्वयमा सिलबन्दी सामान खोलिदिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो ।

जिल्लाबासीले भने सार्वजनिक सम्पत्तीको दुरुपयोग सम्वन्धी घटनालाईलाई ढाकछोप गर्दै दोषीलाई चोख्याउने काम मात्र भएको भन्दै पुनः असन्तुष्टी पोख्न थालेका छन् ।

काम नलाग्ने अवस्थाका उपकरण लिलाम गरिएको भनिए पनि कतिपय उपकरणहरु सिल प्याक नै नतोडिएको अवस्थामा खरिद गरिएको स्वयं सामान खरिदकर्ताहरु बताउँछन् । दक्षिण कोरियामा कार्यरत खोटाङ्गेले उपलव्ध गराएको भिडियो एक्स–रे मेसिन समेत लिलाममा परेको छ । श्रोतका अनुशार लिलाममा गएका भनिएका कतिपय कम्प्यूटर कार्यालयकै कर्मचारीले राखेको छ । नयाँ कम्प्यूटरलाई एक ठाउँमा थन्को लगाएर राख्ने र पछि पूरानो भएको भनेर लिलाममा पारिएको श्रोतको भनाई छ । एक थान भिडियो एक्स–रे मेसिन जिल्ला प्रशासन कार्यालयमै राखिएको छ । कवाडीकै रुपमा बिक्री गर्दा पनि बढि मूल्यमा बिक्री हुने उपकरणलाई मिलेमतोमा लिलाम गरिएको स्थानीयको भनाई छ ।

उपसचिव लामीछाने, लेखा अधिकृत सिताराम दुलाल र बायोमेडिकल इन्जिनियर पंकजकुमार झा लगायतको टोली जिल्ला अस्पताल दिक्तेलमा आएर २०७३ साल कार्तिक ४ गतेदेखि छानबीनका काम थालेर फर्किएका थिए । लामो प्रतिक्षापछि आएको छानबीन समितिको प्रतिबेदन दोषीलाई उन्मुक्ती दिने र घट्नालाई टालटुल पार्ने गरी आएको भन्दै जिल्लाबासी असन्तुष्ट छन् । दोषीको पहिचान एबं कारबाहीको प्रतिक्षामा बसेका स्थानीयको प्रतिबेदनप्रति असहमती छ । लामो समयसम्म प्रतिबेदन नआउँदा कतिपयले उपकरण लिलाम प्रकरणलाई ढाकछोप गर्दै संलग्न दोषीलाई उन्मुक्ती दिनका लागि ‘छानबीनको नाटक’ रचिएको दाबी गर्दैआएका थिए ।

घटनापछि जिल्लाबासीले प्रशासनलाई अस्पतालको उपकरण लिलामका बिषयमा छानबीन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन् । लाईफ लाईन नेपालका रामकुमार भट्टराईको निरीक्षण र मूल्यांकन पछि काम नलाग्ने ठहरिएका उपकरण लिलाम गरिएको जिल्ला अस्पतालका प्रमुख डा. रामबहादुर केसीको भनाई छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post