sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » ‘संकट आई लाग्दा पो तालिम र प्रमाणपत्रको याद आयो !’

सन्तोषकुमार राई/खोटाङ
पुस–२६, ‘मेरो लागि सूचना केन्द्र भूल्नु भनेको बावुआमा भुल्नु जस्तै हो ।’
वैदेशिक रोजगारीका क्रममा कतार गई छुट्टीमा घर फर्केका खोटाङ राजापानीका ज्ञानबहादुर बिक दैलोबाटै प्रशंसा गर्दै सुचना केन्द्र पस्नुभयो । झण्डै चार वर्ष अघि सूचना केन्द्रले दिएको परामर्शपछि तालिम लिएर कतार गएका ज्ञानबहादुरले केन्द्रमा छिर्ने बित्तिकै फेरि थप्नुभयो ‘ म त तपाईंहरुलाई धन्यवाद दिन आएको नि ।’
 तालिम लिएर नगएको भए आफु बर्बादै हुने रहेछु भन्ने जनाउ दिन उहाँ हत्तारिएको भान हुन्थ्यो । पहिलेको स्थानबाट सूचना केन्द्र सरेकोमा अलिकति अल्मलिएको भन्दै उहाँले आफ्नो कुराको शूरुवात गर्नुभयो ।
 जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ मा पर्ने राजापानी नमुना बस्तीका ज्ञानबहादुर २०७० सालमा सामी परियोजनाबाट इलेक्ट्रिसियनको तालिम लिएर कतार जानुभएको थियो । 
उहाँ तालिम लिएकै काम गर्न इनोभेटिभ म्यानपावरलाई ६५ हजार बुझाएर कतार जानुभयो । म्यानपावरले एक हजार रियाल हुन्छ भनेर पठायो तर त्यहाँ न इलेक्ट्रिसियनको काम पाउनुभयो न त एक हजार रियाल तलब नै । म्यानपावरले झुक्याएर हेल्परमा पठाएकाले उहाँले त्यही काम गर्नुपर्यो । अनि तलब पनि ८ सय रियाल मात्रै पाउनुभयो । त्यो पनि नियमित हुँदैनथ्यो । 
सूचना केन्द्रका कर्मचारीतिर हेर्दै बिकले कतार गएपछिको नालीबेली सुनाउन थाल्नुभयो– ‘सप्लाई कम्पनी परेछ काम पनि राम्रो नचल्ने त्यही भएर ३ महिनामा एक पटक तलब दिन्थ्यो ।’ भनेको काम र तलब नभएर तनाबमा परेका ज्ञानबहादुरले सूचना केन्द्रमा फोन गर्नुभयो । केन्द्रले समस्या समाधान गरिदिन म्यानपावरलाई आग्रह पनि ग¥यो। 
म्यानपावरले एक महिनामा समस्या समाधान हुने भन्दै नेपालमै भनिएको तलब पाउने आश्वासन दियो । ६ महिनामा त कम्पनी नै बन्द भयो । त्यतिबेला ज्ञानबहादुरले ३ महिनाको मात्रै तलब थाप्नुभएको थियो । त्यसैले बाँकी ३ महिनाको तलब माग्नुभयो तर कम्पनीले बन्द भइसकेकाले तलब नदिने भन्दै नेपाल फर्किने भए टिकट दिने जवाफ दियो । जाने बेला लिएको ऋण जस्ताको तस्तै थियो । त्यसैले ज्ञानबहादुरले नेपाल फर्किन्छु भन्न सक्नुभएन । के गर्ने भन्ने अन्योलमा परेका ज्ञानबहादुरलाई अर्को कम्पनीमा काम गर्ने गाउँका दाई आफूले काम खोज्न सकिने तर त्यसका लागि रिलीज पेपर (कम्पनी छोडेको कागजात) चाहिने बताए ।
त्यसका लागि बन्द भएको त्यो कम्पनीको रिलीज पेपर आवश्यक पर्यो । सुरुमा त कम्पनीको साहुले कागजात दिन मानेन । तर केही दिनको अनुनय विनयपछि ज्ञानबहादुरले रिलीज पेपर हात पार्नुभयो । ‘त्यतिबेला त म एकदमै खुशी भएँ’ ज्ञानबहादुरले भन्नुभयो । केहीदिनमा ज्ञानबहादुर अल जबार कम्पनीमा अन्तर्वार्ता दिन पुग्नुभयो । अन्तर्वार्ताका लागि बस्दा पनि उहाँलाई त्यहाँ के सोध्ने होलान, के भन्ने होला भन्ने चिन्ता पनि भन्दा पनि काम पाइने भने खुशी मात्रै लागिरहेको थियो । 
कम्पनीको व्यक्तिले तँलाईं के गर्न आउँछ ? भनेर सोधेपछि उहाँ झस्किनुभयो । ‘त्यतिबेला पो मलाई यहाँ सिकेको तालिम अनि त्यसको प्रमाणपत्रको याद आयो ।’ ज्ञानबहादुर भन्नुहुन्छ । 
अंग्रेजी भाषामा पनि लेखिएको प्रमाणपत्र उहाँसँगै थियो । ज्ञानबहादुरले त्यही देखाउनुभयो । प्रमाणपत्र हेरेपछि कम्पनीको व्यक्तिले उहाँलाई इलेक्ट्रिसियनसँगै सम्बन्धित केही प्रश्न गर्यो । उहाँले त्यतिबेला गरिएका प्रश्नको सजिलै उत्तर दिनुभयो । ज्ञानबहादुरका कुरा सुनेपछि कम्पनीले उहाँलाई एक हजार रियाल तलब र खानाका लागि ३ सय रियाल दिने गरी सम्झौता ग¥यो । 
सम्झौता पत्र समात्दा ज्ञानबहादुरको खुशीको सीमा थिएन । ‘त्यतिबेला मात्रै मैले सीप तालिमको महत्व थाहा पाएँ ।’ खुशी हुँदै ज्ञानबहादुरले भन्नुभयो ‘हातमा सीप नभएको भए त्यो मरुभूमीमा कहाँ जानु के गर्नु । मेरो बिजोक हुने थियो ।’
 ज्ञानबहादुरले ओभर टाईम समेत गरेर अहिले त १८ सयदेखि २ हजार रियाल तलब पाउनुहुन्छ ।  विदेश जाँदाको ऋण चुक्ता गरेर केहि बचत पनि गर्नुभएको छ । काम जाने कै कारण कम्पनीले नेतृत्व गर्ने जिम्मा दिएको छ उहाँलाई ।
उहाँको तलब अझै बढाउन सुपरभाइजरले कम्पनीलाई सिफारिस गरेको छ । ‘तीन महिनाको छुट्टी सकेर फर्किंदा सायद तलब बढेको हुन्छ होला ।’ ज्ञानबहादुर भन्नुहुन्छ । सूचना केन्द्रमा खुब गफिन खोजिरहेका बिकलाई दाजुले हत्तारो लगाएपछि जाँदाजाँदै भन्नुभयो–‘विदेश जान ठिक्क परेको भए त्यस देशको जानकारी र सीप लिएर मात्रै जानु पर्ने रहेछ ।’ धन्यबाद दिँदै पसेको ज्ञानबहादुर फेरि धन्यबाद दिँदै बाहिरिनुभयो अन्तिममा भन्नुभयो–‘म अरुलाई पनि सूचना केन्द्रबारे बताएर पठाईदिन्छु है !’

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post