sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » हलेसी बजारको आगलागीमा पाँच करोड बढीको क्षति

खोटाङ १९ पुस
राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा परिचित खोटाङ जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकियस्थल हलेसी महादेव परिसरमा अवस्थित बजारमा मंगलबार भएको आगलागीमा पाँच करोड बढीको क्षति भएको पाइएको छ ।


हलेसी तुवाचुङ नगरपालिका–७ स्थित हलेसीबजारका व्यवसायी मगम राईको घरबाट सल्किएको आगोले १३ घरमा क्षति पुग्दा पाँच करोड एघार लाख १५ हजार बराबरको क्षति भएको  प्रहरीले अनुमान गरेको हो ।

महादेव गुफाको दक्षिणी क्षेत्रमा साँझ साढे ७ बजेबाट शुरु भएको आगोले मगम राईको दुईवटा घर जल्दा ८० लाख, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घर जल्दा एक/एक करोड, जगदिस दासको होलसेल पसल जल्दा एक करोड क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

प्रनाउ थापाका अनुसार आगलागीमा आंशिक रुपमा घर क्षति भएको प्रकाशचन्द्र गिरीको १५ लाख, रेगिन्द्र राईको एक लाख, गोविन्द राईको पाँच लाख, सरनसरी राईको पाँच लाख, सरनकुमार राईको एक लाख ५० हजार, महानन्द राईको एक लाख, कृष्ण राईको दुई लाख ५० हजार र कम्पराज राईको १५ हजार क्षति भएको हो ।

आगलागीबाट पूर्णरुपमा घर क्षति भएका पाँच पीडित परिवार अहिले आफन्त तथा सुरक्षाकर्मीले बनाइ दिएको कटेरामा बसिरहेका छन् । चिसो मौषम भएकाले सुरक्षाकर्मीले बनाइ दिएको कटेरमा बस्न समस्या भएको पीडित परिवारले बताएका छन् ।

आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । साँझको समयमा अचानक सल्किएको आगो इलाका प्रहरी कार्यालय हलेसी र स्थानीयवासीले करिब साँढे तीन घण्टापछि नियन्त्रणमा लिएका थिए ।
आगो नियन्त्रणका लागि सदरमुकाम दिक्तेलबाट पठाइएको दमकल र सुरक्षाकर्मी नपुग्दै आगो नियन्त्रणमा आएको थियो ।

 नगरपालिकामा दमकल नहुनु र पानी अभावका कारण आगलागी नियन्त्रणमा लिन ढिलाइ भएकाले धेरै क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताए ।

आगलागीमा ठूलो मात्रामा धनमाल नष्ट भएपनि मानवीय क्षति भने हुन पाएन ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post