sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » पुर्ब लाहुरे भिम राईको अर्को संस्मरण: आस्ता ला भिस्टा, “बार्सोलोना”



२० जुलाई २०१२ | समय बिहानको ठिक ७ बजेछ | लामो हर्न बजाउदै पानीजहाज बार्सोलोनामा रोकियो | अचानक यसरि बजेको हर्नले मेरो निन्द्रा भताभुङ्ग भयो | बिस्तारै झ्यालको पर्दा सारे | बार्सोलोनाको जमिनमा घामको किरण भर्खर भुइमा झर्दै थिए | काष्ठमण्डपको धुलो र धुवा हेर्ने बानी परेका मेरो इन्द्रियाहरु | यहा यस्तो सफा मौसम देख्दा मलाई खुसिको सिमा रहेन | निलो आकाशमा एक टुक्रा पनि बादल थिएनन् | तै पनि ताराले पटक्कै उठने छाट गरिनन् | छोरा छोरीको झन कुरै नगरौ | म चाही बिस्तारै उठेर बिहानको नित्यकर्म सके | र ब्रेकफास्टको लागी जहाजको १२औ तलामा एक्लै चढे |  

ब्रेकफास्टका टेबलहरु प्राय: शुन्य देखिन्थे | टाढा कुनाको टेबलमा एक जोडी अंग्रेज र एक परिवार जर्मन थिए | मनमनै सोचे | अंग्रेज र जर्मन हिजो एक अर्कामा मुख्य दुश्मन थिए | अहिले रुखको पातहरुले पालुवा फेरे झैँ समय परिबर्तन भै सकेको छ | आजको बिश्वको एउटा समाज अर्को बिना बच्न गार्हो छ | त्यसैले होला, उनीहरु जहाजको यात्रामा खुब मिलेका देखिएका छन् |   

ब्रेकफास्ट रुममा पुगे पछी क्रमश: अगाडी बढ्दै गए | बेयराले नजिकैको टेबलमा बस्ने संकेत गरिन | तै पनि मैले बाहिर बरण्डा छेउको टेबल रोजे | किनभने त्यहा बसेर ब्रेकफास्ट खाँदै गर्दा बार्सोलोनाको राम्रो नजर मार्न सकिन्थ्यो | मलाई लाग्यो, त्यहा मैले स्वर्गीय आनन्द लिन सक्दथे | म बसे अनि बेयरा नजिकै आईन | फुल अंग्रेजी ब्रेकफास्ट मगाए | त्यसपछि अलिकति मस्कन्दै कफी लिएर फेरी आई पुगिन |

कफीको चुस्की लिदै थोरै चकाब लगाए | आज समयले पनि खुब साथ दिएछ | एका बिहानै श्रीमती नभएको मौकामा चौका हानेर आँखाको बिष मारे | उनि संग थोरै बोले, धेरै ब्रेकफास्ट खाए | केहि क्षणमा तारा अनि छोरा छोरी आई पुगे | त्यसपछि पो झसङ्ग भए | बल्ल होस फिर्यो | अनि पो बार्सोलोनाको नजर लगाउन थाले | यसो सोचे, यी युवतीहरु पनि मन्द मन्द बिष नै हुन् | नपिए पनि नजिकिए पछी अलि अलि माती हाल्ने |

ब्रेकफास्ट पछी सरासर जहाज बाट निस्कीयौ | र प्रथम पाईला बार्सोलोनामा पार्यौ | यो स्पेनको दोश्रो ठुलो शहर तथा क्याटोलोनियाको राजधानी हो | यहाको जनसख्या लगभग १६ लाख रहेको छ | जहाजको ढोका बाहिर ट्राभल एजेन्टहरु छ्यास छयास्ती भेटिए | दिन उस्तै परेछ, फेरी भेट भयो | एउटी सिन्का जस्ती अग्ली युवती | गाईड रहिछे, संक्षिप्त बोलचाल भयो | उनको नाम मार्था रहिछे | यदा कदा बेलायतमा सुनेको चिर परिचित स्पेनिश महिलाको नाम | उनले शहरमा पुग्नै पर्ने स्थानहरु राम्रो संग बताई दिईन | अनि उनले सितैमा बार्सोलोना सहरको नक्सा पनि उपलब्ध गराईन |

अब ‘ला राम्बला’ सम्म उनले साथ दिने भईन | ‘के खोज्छस कानो आँखो’ औधी खुसि लाग्यो | तर तारा चाही हल्का बिच्कीइन | किनभने भरै तिनले ढाड मस्काउने छिन भन्ठानेर | अब उनले यसरि हिड्दै गर्दा शहरको बिषयमा राम्ररि बताउदै लगिन | उनि अघि अघि म पछी पछी | बिचमा छोरा छोरी र तारा हिडनमा जहिले नै अन्तिम | यो उनको पुरानो बानि नै हो | किनभने उनको अन्तिम समय सम्म कुन्नि के के मिलि रहेको हुन्न |

मार्था संग यसरि कुरो गर्ने क्रममा बार्सोलोना लगभग बगलिमारहरुको सहर हुन् भनिन् | मलाई अचानक भतिज सुबिनको याद आयो | किनभने बार्सोलोना यात्राको क्रममा उनको राहदानी पैसा र झोला सबै चोरि भएको थियो | तर म पनि के कम | मार्था सहरको कुरै छाडौ | जिबनमा बगलिमाराहरुको राजधानी नया दिल्ली, कलकता र सिलगुडीको पनि अनुभब संगालेको छु भने | तै पनि मार्थाको यो भनाईले बिचरी मेरी छोरीको मुटु छिया छिया परि सकेकी रहिछे |  

उनले सबैभन्दा पहिले क्रिस्टोफर कोलम्बसको शालिक तर्फ लगिन | कोलम्बसले सन् १४९२ मा अमेरिका पता लगाएका थिए | उनको यहा १९७ फिट अग्लो शालिक ला राम्बालाको मुखैमा अबस्थित रहेको छ | मार्थाले त्यहा पुगे पछी कोलम्बसको बिषयमा क्रमस: बताउदै गईन |

कोलम्बस ३१ अगस्त १४५१ मा जेनेवा, इटालीमा जन्मेका हुन् | उनि एकदमै शाहसी मानिस थिए | र उनले इन्डिया जाने धेरै बर्ष अगाडी देखि सोच बनाएका रहेछन | सोहि अनुसार उनले केहि पानीजहाजहरुको तर्जुमा गरे | उनको मुख्य उदेश्य युरोप देखि इन्डिया जाने एकदम छोटो बाटो पता लगाउन रहेछ | यदि त्यसो भएमा युरोप र इन्डियाको व्यापारको लागि सजिलो हुने उनलाई लागेको थियो | त्यसैले उनले पानीजहाजहरुको पूर्ण तयार गरेका हुन् | र पोर्चुगर्ल, फ्रान्स र इंगल्याण्डको राजाहरुलाई खर्चको लागी अनुरोध गरे | यसरि फैलाइएका उनका हातहरु खाली भए | तर हुने हुनामी तारेर तर्दैन भने झैँ स्पेनको तत्कालिन राजा फर्डीनान्ड र महारानी इजाबेलाले उनलाई लाग्ने खर्च दिने भए |

जसको परिणाम स्वरुप ३ अगस्ट १४९२ मा कोलम्बस पालोस बन्दरगाह स्पेन बाट इन्डिया हिडे | तर उनि इन्डियाको सट्टा सोहि वर्ष अमेरिका पुगे | उनका भोयजमा ला निना, ला पिन्टा र ला सान्ता मरिया गरेर ३ वटा जहाजहरु थिए | जसमा कोलम्बस संग जम्मा ८७ जना यात्रुहरु थिए |

धेरै धन्यबाद र अलिकति भेटि सहित मार्था लाई बिदा गर्यौ | त्यहा बाट हाम्रो यात्रा क्रमस: ला राम्ब्ला तर्फ अगाडी बढ्यो | यो बार्सोलोनाको सबैभन्दा ठुलो पर्यटकीय स्थल हो | जुन बाटो १.२ किलोमिटर लामो रहेको छ | त्यहाँ पुग्दा गत रातको स्ट्रीट पार्टीले बनाएको फोहोर मैलालाई क्याटोलियन कमरेडहरुले भर्खरै सफा गर्दै थिए | दाया बायाँ देखिएका क्याफे र भट्टी पशलहरु चिर निन्द्रा बाट ब्युझंदै रहेछ | बास्तबमा यो रात्रि कालिन मनोरन्जनको लागि अति उपयुक्त स्थान हुनु पर्छ | हामी क्रमस: ला राम्ब्लाको उत्तर तर्फ बढदै गयौ | पानीजहाजमा हिजो रातिको ककटेल पार्टी र फिलिपिनो युवतीहरु संगको नाचले छोरोको निन्द्रा नपुगेको उसको हिडाई बाट राम्रै चाल पाइन्थ्यो | यसो सोचे, सायद उनलाई यो ह्यांगओभरले यहि नजिकैको समुन्द्रमा हाम फालेर मरौ भैरहेको होला ?

केहि समय पछी हामी क्याटालुन्य मेट्रो स्टेसनमा पुग्यौ | जहा बाट ग्रीन लाइन ‘एल ३’ भएर ‘साग्रदा फेमिलिया’ जानु थियो | मेट्रो स्टेसन भित्र पसे पछी टिकट काटने मेसिनको खोजिमा लागे | समग्रमा यहाको भूमिगत रेल लन्डन, पेरिस, न्युयोर्क, बेइजिंग वा हंगकंग जस्तो त्यति व्यस्त देखिएनन् | टिकट झर्ने मेसिन ‘भेन्डे डी टिकेट’ बाट टिकट झार्ने प्रयत्न गर्दै थिए | स्पेनिश भाषाको समस्यले गर्दा टिकट झार्न केहि झमेला भई रहेको थियो |

यस्तो केहि नजान्नेले किन संसार घुम्न खोजेको भनेर ताराले प्वाक्कै भनीन् | उत्तर दिई रहन उचित ठानिन, त्यसैले एक शब्द पनि बोलिन | अचानक नजिक बाट एकजना अपरिचित मानिस आए | र टिकट झार्न सिकाई दिन्छु भने | हल्का नजर लगाए | उत्तरी अफ्रिकन मुलुक तिरको हुन कि भनेर शंका गरे | तै पनि टिकट झार्न समस्य भै रहेको बेला हुन्छ भने | छोरीले चोर हुन सक्छ भनेर साबधान गराईन | म कति लाटो रहेछु | साच्चै त्यसबेला पो मलाई मार्थाको भनाईको झल्यास याद आयो |  

उनले सिकाए बमोजिम मैले चार वटा टिकटहरु झारे | खुसि हुदै धेरै धन्यबाद ‘मुचास ग्रासिएस’ भने | कुन गोजी बाट पैसा निकाल्छ, र कुन गोजीमा राख्छ भनेर चोरहरुले हेरि रहेको हुन्छ भन्ने पाठ मैले सिलगुडिमा पहिले नै सिकि सकेको थिए | त्यसैले उनले देख्ने गरेर मैले बाकी पैसा तारालाई दिए | ता कि म संग पैसा छैन भन्ने कुरो उनलाई राम्रो संग हेक्का होस् | अब उनले रेल चढने प्लेट फर्म देखाई दिन्छु भनेर उनि हाम्रो अघि अघि हिडे | त्यहि बेला मैले मौका छोपे | तारा बाट सबै पैसा फिर्ता लिए | प्लेट फर्ममा पुगे पछि उनि हामी संगै केहि समय उभिए | सायद तारा बाट पैसा चोर्ने योजना बुन्दै होला जस्तो लाग्यो |

रेल आयो | हामी लाग्यौ | उनि त्यतै छाडिए बल्ल ढुक्कले सास फेर्यौ | केहि समय पछी साग्रदा फेमिलिया पुग्यौ | यो संसारको सबैभन्दा ठुलो तर अहिले सम्म बनाई नसकिएको रोमन क्याथोलिक चर्च हो | यस्को निर्माण सन् १८८२ बाट सुरु गरिएको थियो | र सन् २०२६ सम्ममा निर्माण कार्य सकिने योजना बनेका छन् | जुन समयमा यसको आर्किटेक एन्टोनी गाउडीको मृत्यु भएको सय बर्ष पुग्नेछ | र सोहि सत बार्षिकीमा यसको उदघाटन हुने आशा गरिएको छ | तै पनि यो पर्यटकहरुले अति ब्यस्त रहेको छ | दुर्भाग्यबस यहाको गर्मि र मानिसहरुको घुइचोले चर्च भित्र पस्न नै सकेनौ | जे होस, साग्रदा फेमिलियामा बिताईका रमाइलो समय पछी बास बस्न पानीजहाजमा फर्कियौ |

भोलि बिहान हामी सिधै मेट्रो बाट नाउ क्याम्प तर्फ लाग्यौ | नया जमीन (नाउ क्याम्प) बार्सोलोना फूटबल क्लबको रंगशाला हो | यो म्यानचेस्टर युनाइटेड पछिको संसारको दोश्रो धनि क्लब | म्यानचेस्टर फुटबल मैदान पहिले नै पुगी सकेको थिए | त्यहि भएर घुमन्ते भएर एक पटक बार्सोलोना खेल मैदान पनि पुग्यौ भन्ने रहर थियो | त्यहि सपना आज साकार हुदै थियो |  

मेट्रो बाट झरे पछी त्यहा पुग्न त्यति सजिलो रहेनछ | केहि समय हिडन पर्यो | बार्सोलोनाको सूर्य छिपिदै गर्दा हिड्न लाई छोरा छोरीले अनुहार चाउरी बनाए | तर बल्ल बल्ल त्यहाँ पुगे पछी दुबै जना खुसि भए | यसको निर्माण सन् १९५४ बाट सुरु गरेर १९५७ मा पुरा गरिएको थियो | यो ‘मे डे रंगशाला’ प्योंगयांग उत्तर कोरिया पछिको संसारको दोश्रो ठुलो फूटबल रंगशाला हो | यस रंगशालामा ९९,३५४ जना मानिसहरु अटाउने क्षमता रहेको छ | यहा बार्सोलोनाको खेलहरु बाहेक सन् १९८२ मा बिश्वकपको केहि खेलहरु भएका थिए | त्यसको अलवा यहा प्रसस्तै कन्सर्टहरुको पनि आयोजना भएका छन् | यहा आई पुग्दा भाग्यले अलिकती साथ दिएर छोरोले बार्सोलोनाको बहुत चर्चित खेलाडी लियोनल मेस्सी लाई पनि अचानक देख्ने अवसर पाउदा उनि चकित भए |  

रंगशाला घुमी सके पछी छोरा छोरी भोकाए | यो पनि ताराको जस्तै उनीहरुको पुरानो बानि नै हो | उनीहरुले नजिकै एउटा रेस्टुरेन्ट देखे | दिउसोको लन्च पायला (पायया) खाने निधो गरे | यो स्पेनमा प्रख्यात खाना हो | पायालालाई धेरैले भेलेन्सीयन खाना हुन् भन्ने पनि गरेका छन् | किनभने चामल भेलेन्सिया बाट खरिद गरेर ल्याईएका हुन्छन | पहिले ‘मालोर्का’ जादा ठुलो भाडोमा पकाएको पायाला ‘बियार्नी’ जस्तै स्वादिलो मानि मानि खाएको याद छ | तर सानो भाडामा पकाएको पायाला मैले खासै मिठो मानिन |

लन्च पछी हामी बार्सोलोना ओलम्पिक रंगशाला तर्फ लाग्यौ | ‘मोन्टेयुच’ डाँडामा अबस्थित यहि रंगशालामा सन् १९९२ को गृष्मकालिन ओलम्पिक खेल भएको थियो | ईसा पुर्व ७७६ मा भएको प्रथम प्राचिन ओलम्पिक रंगशाला ‘ओलम्पिया’ गाउ पहिले नै पुगि सकेको थिए | त्यस पछी सन् १८९६ मा प्रथम आधुनिक ओलम्पिक खेल भएको रंगशाला ‘पान्थेनिक’ एथेन्सको नजर मारेको थिए | पान्थेनिक मात्रै एउटा यस्तो रंगशाला हो, जहाको सबै बस्ने सिटहरु महँगो मार्बल द्वारा निर्माण गरिएको छन् | एबम प्रकारले हेलसिन्की, म्युनिक, रोम, एथेन्स, सिओल, बेइजिंग र लन्डनको सबै ओलम्पिक रंगशाला देख्ने सुअवसर मिलि सकेको छ, मलाई |

सन् १९९२ को बार्सोलोना ओलम्पिक खेल उदघाटनको क्रममा ६७ हजार मानिसहरुको यहा उपस्थित थियो | मलाई एन्टोनियो रेबेल्लोले धनुषकाण बाट बान हानेर बालेको ओलम्पिक ज्वाला अद्वितिय लागेको थियो | उनले यो बान २३० फिट टाढा बाट हानेका थिए | सम्भबत ओलम्पिक खेलको इतिहासमा रबिन हूड तरिकाले बालेको ओलम्पिक ज्वाला एउटा “आश्चर्य” हुन सक्तछ | आज धेरै लामो समयको अन्तरह्राल पश्चात तिनै स्थानमा पाइला टेक्न सौभाग्य मिल्यो | र तिनै पुरानो दिनको याद मेरो मानस पटलमा अझै ताजै छ |   

बार्सोलोनाको दुई दिनको रमाइलो यात्रा आँखा झिमिक्क गरे झै सिधियो | त्यसपछि पानिजहाजमा फर्कियौ | बार्सोलोना पटक पटक आउदा पनि अति रमाइलो हुन्छ भन्ने हामीले निष्कर्ष निकालौ | र हामीलाई त्यस्तै महसुस भयो | बेलुकी ६ बजे पानीजहाजले बार्सोलोना बिस्तारै छाड्दै थियो | हामी जहाजको १२औ तलामा निस्कीयौ | जहाजको कप्तान बार्तोसले तिन पटक लामो लामो हर्न बजाए | त्यस पछी बिदाइको गीत बजाउदै बार्सोलोना छाडेको संकेत गरे | म जहाजको छेउमा बसेर फेरी फर्कने बाचा गर्दै “आस्था ला भिस्टा बार्सोलोना” भन्दै पश्चिम तर्फ फर्के |||||




यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post