sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » मरुभूमिको सिकाई : गाउँमै ब्यवसायिक पशुपालन र तरकारी खेतीमा रमाउँदै


खोटाङ फागुन–६, वैदेशिक रोजगारीमा गई फर्केका खोटाङका अधिकांश युवाहरु आफ्नै जन्मस्थानमा ब्यवसायिक कृषि तथा पशुपालनमा लागेर मनग्गे आम्दानी गरिरहेका छन् । कतिपयले विदेशमा गएर श्रमको महत्व बुझेर घरघु¥यानमै यो पेशा अपनाएका छन् भने कतिले ब्यवसायिक सीप सिकेर दीगो आम्दानीमुलक कृषि तथा पशुपालन अपनाएका हुन् । 

खाडी मुलुक कतारमा गरेको कृषि ब्यवसाय देखेर फर्कनुभएका खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँका हरी लुईंटेल हाल आफ्नै भूमिमा कृषि तथा पशुपालन ब्यवसायमा रमाईरहनुभएको छ । कतार जस्तो मरुभूमिमा पनि  लगानी र श्रमका कारण कृषि ब्यवसाय सफल बनेको देखेपछि हरीलाई गाउँमा बाँझिएका उर्बर भूमि र खेरो गईरहेका श्रोतहरुको झल्झली याद आयो । सेक्युरिटी गार्डको काम गर्ने लुईंटेल भन्नुहुन्छ–‘ त्याहाँ नेपालकै साथीहरु पनि थुप्रै भएकाले म छुट्टीको समयमा त्यस फर्मको वरीपरी डुल्थेँ, त्यस्तो बगरै बगर भएको सुख्खा मरुभूमिमा पनि बिशाल कृषि फर्म देखेर छक्क पर्थें ।’

 मरुभूमिमा माटो र पानी किनेर बोकेको भरमा ब्यवसायिक कृषिबाट हजारौं कामदार राखेको देख्नुभएको हरी लुईंटेलले ४ बर्ष अघिदेखि सदरमुकाम दिक्तेलबजार नजिकै ३ सय रोपनी जग्गामा भैंसी, बाख्रा, कुखुरा पालनका साथै तरकारी खेति गरेर राम्रो कमाई गरिरहनुभएको छ । ‘यहाँ त हरियाली घाँसपात छ । पानीको मुहान छ । माटो बाँझिएर गईरहेका छन्, मरुभूमिमा जस्तो खेति गर्नको लागि माटो अर्कै देशबाट किनेर ल्याएउनु पर्दैन ।’ आफ्नो उर्बर माटोप्रति लोभिँदैं हरी भन्नुहुन्छ–‘यहाँ त के छैन र ? पानी खेर गईरहेका छन् । सुन फल्ने जमिन बाँझिएका छन् ।’

१० बर्षसम्म मरुभूमिमा पसिना बगाएको कमाईबाट अजम्बरी कृषि फर्म सञ्चालन गरी पशुपालन गर्दै हराभरा तरकारी उत्पादन गरिरहनुभएको लुईंटेललाई हाल कतारको कमाई खास कमाई नै होईन भन्ने लाग्छ । उहाँ भन्नुहुन्छ–‘ कतारमा हुने बार्षिक ३–४ लाख रुपैंयाँ त कमाई हो जस्तो पनि लाग्न छाड्यो ।’
 आम्दानीसँगै सन्तुष्ट हरीले ५–६ जनालाई रोजगारी समेत दिनुभएको छ ।  

कृषि फर्मलाई अझ ब्यवस्थित बनाई उन्नत जातको गाई पालन समेत थप्ने योजना बनाउनुभएको हरीका अनुसार जिल्लामा माग अनुसारको दुध आपूर्ति हुन सकेको छैन । 
लगानी र ब्यवस्थापनको चरणमै भएको अवस्थामा पनि कामदारको तलब, लगानी रकम सबै कटाएर मासिक ३० हजार रुपैंयाँसम्म चोखो बाँच्ने लुईंटेलले जनाउनुभयो । 

लगानी र श्रम गरेको खण्डमा बिदेशको तुलनामा नेपालमै मनग्गे आम्दानी हुने उहाँको धारणा छ । हरीले ब्यवसायिक कृषि तथा पशुपालनकै लागि देशका बिभिन्न स्थान र फर्महरुको भ्रमण र अध्ययन गर्नुभएको छ ।
  ‘एक हिसाबले सबै नेपालीले एक पटक बिदेश गएर दुःख पाउनै पर्ने रहेछ जस्तो लाग्छ ।’ उहाँ भन्नुहुन्छ–‘त्याँहा भोग्छन्, चेत्छन्, देख्छन् अनि नेपालमा फर्किएर काम गर्न जाग्र चलाउँछन् ।’ 
हरी लुईंटेल एक प्रतिनिधि ब्यक्ति मात्र हुनुहुन्छ ।

कृषि ब्यवसायको लागि सरकार तथा बिभिन्न निकायले समेत सीप तथा अनुदान प्रदान गर्न थालेपछि वैदेशिक रोजगारीबाट फर्किएका तथा जान तयार जिल्लाका युवाहरु स्वदेशमै लगानी र श्रम गर्न उत्साहित बनेका हुन् । बिशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु कृषि तथा पशुपालन ब्यवसायको लागि परामर्श तथा ब्यवसायिक सीपको लागि सम्पर्कमा आउने गरेको जिल्ला कृषि बिकास कार्यालयको प्रमुख वरिष्ठ कृषि बिकास अधिकृत श्यामप्रसाद घिमिरेको भनाई छ । पछिल्लो समय युवाहरुमा कृषि तथा पशुपालन ब्यवसायमा रुचि भएको पाईएको उहाँले बताउनुभयो ।

जिल्लामा सडक बिस्तारको अवस्था समेत तीब्र भएको कारण कृषि तथा पशुपालन ब्यवसायमा राम्रो सम्भावना भएको जिल्लाबासी बताउँछन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post