sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » साउदीले ‘तेज’ खोसेका तेजबहादुर– 'ढुकढुकी छ- बोल्दैनन्, आँखा खोल्छन्- थाहा छैन देख्छन्/देख्दैनन् !'

उजिर कार्की 
२ असार २०४६ । शुक्रबारका दिन घामको तेज मधुरो हुँदै थियो । त्यहीबेला उदाएका थिए, तेजबहादुर । उनलाई यस धर्तीमा स्वागत गर्न खोटाङको बाँझेच्यानडाँडामा आफन्त, छरछिमेक भेला भएका थिए । छन त ज्ञानेन्द्र र चन्द्रकुमारीका सन्तानका रूपमा तीन छोरी थिए । छोराको रहर पूरा भएको थिएन । जन्मेको चार महिनामै एउटा छोरो गुमाइसकेका थिए । तेजबहादुरको जन्मले यो परिवारको खुसी चुलिएको थियो ।

त्यसपछिका केही वर्ष तेजबहादुर चिच्याउँथे, बोली बुझिँदैनथ्यो । नहिँडे पनि चलमलाउँथे । हात खुट्टा चलाउँथे । वर्ष थपिँदै गए, उनका क्रियाकलाप बढ्दै गए । अरूले झैँ तेजबहादुर पनि बोलेको बुझ्न थाले, जवाफ फर्काउन थाले ।

हात खुट्टा मात्रै चलाएर छट्पटाउने तेजबहादुर बिस्तारै घिस्रिन थाले, अनि थिरथिराउँदै ठमठमी हिँड्न थाले । आम्मा.. आम्मा.. भन्दै बोली फुट्यो । आज तिनै तेजबहादुरले २९ वर्ष छिचोले । उमेरकै नाफाघाटाको हिसाब निकाल्ने हो भने मस्त कमाउने, केही गर्ने र परिवारको भरोसा हुन् उनी ।
तर उनको अवस्था त्यस्तो छैन । हिँड्न नसक्ने, बोल्न नसक्ने अनि खान नसक्ने अवस्थामा छन् उनी । उनको अवस्था ठ्याक्कै २९ वर्षअघिको बालापनभन्दा झन कमजोर छ । आज तेजबहादुरमा ‘तेज’ छैन, ‘धुकधुकी’ मात्रै छ । शरीरका अरू अंगको प्रतिक्रिया छैन । आँखा खोल्छन् मात्र । तर, देख्छन् कि देख्दैनन् ? ठम्याउन सकिँदैन ।
हिजो जन्मनेबितिकै सिरकको खोलले भए पनि ढाकिएका तेजबहादुरको शरीरमा आज एउटा अस्पतालको धरो बेरिएको छ । जन्मिनेबित्तिकै आफैँ दूध चुसेका तेजबहादुरलाई आज पाइपबाट खाना खुवाउनुपरेको छ । दिसा पिसाबका लागि पनि पाइपकै सहारा चाहिएको छ ।

तेजबहादुरले र्ना वर्षसम्म साउदी आउजाउ गरे । साउदीकै कमाइले सुनसरीमा घडेरी किने, इटहरी नजिकै । आँपगाछीमा । दुई तले घर बनाए । उनकै कमाइले परिवार पहाडबाट तराईमा बसाईं स¥यो । ‘द हाइयर किचन’ साउदीका ‘सुपर भाइजर’ तेजबहादुरलाई आज यो अवस्थामा पु¥याउने कारण पनि त्यही साउदी बन्यो । जसले उनको परिवारको आर्थिक अवस्था सुधारेको थियो । ८ औँ वर्षसम्म फापेको साउदीले नौ वर्ष भएपछि तेजबहादुरलाई लडायो । अन्ततः अचेत नै बनायो । जिउँदो लाशजस्तै !


साउदी उनले रोजगारी गर्न रोजेको देश थिएन । बुबा ज्ञानेन्द्रले भने, ‘सानो छँदा त देशमै जागीर खान्छु भन्थ्यो । पढाई पनि राम्रो थियो । एकै तालमा एसएलसी पास गरेको हो ।’

मनकामना माविबाट एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि तेजबहादुर भोजपुर पुगे । भोजपुर बहुमुखी क्याम्पस ज्ञानबहादुरको परिवारमा आयस्रोतको अरू विकल्प थिएन । पाखो बारीको खेतीपातीबाटै परिवारको गुजारा चलेको थियो । छोरो पढाउने हुटहुटीले ज्ञानेन्द्रलाई छाडेन । ११ र १२ पढाउँदा डेढ लाख रूपैयाँ ऋण लाग्यो । तेजबहादुरलाई जागिर भने मिलेन । ज्ञानेन्द्र भन्छन्, ‘हामीजस्ता गरीबका छोरालाई किन मिल्थ्यो र जागीर !’

डेढ लाख रूपैयाँ ऋण भयो । ऋणले तेजबहादुरलाई विकल्प खोज्न बाध्य पा¥यो । त्यसपछि तेजबहादुरले औपचारिक शिक्षा छाडे । कोरियन भाषा पढे । सन् २००८ मा नाम निस्कियो तर भिसा आएन ।

ऋणको ब्याज बढ्दै गयो । तेजबहादुरलाई तनाव थपिँदै गयो । त्यसमाथि ८० हजार रूपैयाँ ऋण थपेर उनी साउदी लागे । साउदीको ‘अलरोड हाइअर किचन’मा सुरु भयो उनको जागीर । यहीँंको कमाइले ऋण तिरे । घडेरी किने र घर बनाए । बाबुआमालाई पनि अब बाँझेच्यानडाँडा छाड्ने र तराई बसाईं सर्ने आशा बढ्दै गयो । अब फर्किएपछि पहाडको बेचबिखन गरेर तराई झरौँला पनि भनेका थिए ।

१५ चैत्र २०७३ । पेट एकदमै दुख्यो । खप्नै नसक्ने भएपछि तेजबहादुर उपचारका लागि ‘अल मना’ हस्पिटल पुगे । डाक्टरले एपेन्टिसाइड भएको छ, अप्रेसन गर्नुपर्छ भने । त्यतिबेलासम्म तेजबहादुरको स्वास्थ्य ठीकै थियो । नियमित औषधी सेवन गरिरहेका तेजबहादुरलाई अस्पतालले दुई दिनपछि डिस्चार्ज गर्ने भयो । अस्पतालबाटै श्रीमती सुनितालाई फोनमा भनेका थिए, ‘तीन चार दिनमा रुम फर्किन्छु । ठीक भयो भने काममा लाग्छु । नभए घर आउँछु । यस्तो रोग त जसलाई पनि लाग्छ । सामान्य हो आत्तिनुपर्दैन ।’
तेजबहादुरलाई के थाहा अब उनको वाक्य रोकिन्छ । श्रीमतीसँगको यही वार्ता नै अन्तिम संवाद बन्छ भन्ने । तर दूर्भाग्य, सुनिताले श्रीमान्सँग गरेको पछिल्लो संवाद यही बन्यो । थाहा छैन, अब सुनिताले उनको स्वर सुन्न पाउने छिन कि वा पाउँदिनन् !

अस्पतालले ‘तेजबहादुरको अवस्था ठीक हुने सम्भावना कम छ’ भनेको छ । वर्ष दिन उपचारका क्रममा तीनवटा अस्पताल फेरिए । तर, फेरिएको छैन उनको अवस्था । उपचारकै क्रममा साउदीमा बेहोस भएका तेजबहादुरका लागि अब त अस्पतालमा पनि ठाउँ छैन । धरानको वीपी कोइराला मेमोरियल अस्पतालले उनलाई भर्नासम्म गर्न मानेन । साउदीको अस्पतालमा ६ महिना राख्दा पनि सुधार भएन । परिवारकै जोडबलमा नेपाल ल्याइयो । श्रीमान् नेपाल ल्याउनुको कारणबारे सुनिताले भनिन्, ‘अस्पतालमा जति राख्दा पनि ठीक नभएपछि भेट्नै नपाउने हौँ कि भनेर नेपाल ल्यायौँ ।’

तेजबहादुरलाई नेपाल ल्याउन लाग्ने खर्च अस्पतालले नै बेहो¥यो । ‘अल मना’ अस्पतालको लापरबाहीकै कारण तेजबहादुरको यो अवस्था भएको हो । अस्पतालले ४१ लाख रूपैयाँ क्षतिपूर्ति पनि पठायो । डाक्टरसहितको टोलीले गत असोज १२ गते नेपाल ल्याएर छाडिदियो ।
नेपाल ल्याइपुर्याएकै दिन शहीद गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा उनलाई भर्ना गरियो । महिना दिन अस्पताल राखियो । १५ लाख रूपैयाँ सकियो तर सकिएन तेजबहादुरको उपचार । जति उपचार गर्दा पनि उनको अवस्थामा सुधार नआएपछि अस्पतालले भन्यो, ‘यहाँ राखेर खर्च मात्रै बढ्छ, बरु घरनजिकैको अस्पतालमा लानुस् जे जस्तो उपचार हुन्छ, हुन्छ । तर, उहाँको अवस्था सुधार हुँदैन ।’

गंगालाल अस्पतालको सुझावपछि परिवारले तेजबहादुरलाई वीपी कोइराला मेमोरियल कलेज धरानमा लग्यो । तर त्यहाँ तेजबहादुरलाई भर्ना गरिएन । अस्पतालले मान्दै मानेन । तेजबहादुर अन्ततः आफ्नै कमाइले ठड्याएको घरमा मुढोझैँ ढलिरहेका छन् ।


तीन वर्षका छोरा र श्रीमती निस्तेज तेजबहादुरको साथमा छन् । बा–आमा भाइबुहारीसँग पहाडमै छन् । उनीहरूको आधा समय छोरो हेर्न आउजाउ गर्दै बित्छ । चन्द्रकुमारीले भनिन्, ‘उहाँ गयो छोराको अवस्था देखेर मुन्टो पनि उठाउन सक्दिनँ, यहाँ आयो मनै मान्दैन ।’


अब त आफूलाई हेर्ला भनेको छोराको त्यो अचेत अवस्था देख्दा आमाको मनले मानोस् पनि कसरी ! चन्द्रकुमारी भन्छिन् ‘सानामा साह्रै खाइलाग्दो थियो । साथीभाइ खेल्न उसलाई खोज्दै आउँथे, गुच्छा खेल्थ्यो । उनीहरू भेला भएर घेरा तान्न र खोपिल्टो पार्न थालिहाल्थे । आज तिनै साथीले छोराको बारेमा सोधिरहन्छन् ।’
तेजबहादुर ५ वर्षको भएपछि विद्यालय जान थालेका थिए । आठ कक्षा पढुन्जेलसम्म दौरा सुरुवाल नै लगाउँथे । टालटुले कपडामै बित्यो बालापन । ‘त्यति बेला ठूलो भएर कमाउला, चाहेको लाउला भन्ने आश त थियो तर आज....’ वाक्य पुरा नहुँदै गला अवरुद्ध भयो ज्ञानबहादुरको । उनी सुँक् सुँकाए ।

छोराको अवस्था देखेर ज्ञानबहादुर पछुतो मान्छन् । ‘राम्रो पढाइ भए पनि खर्च नभएर पढाउन सकेनौँ, पढ्ने खर्च दिन सकेको भए आज यो अवस्था आउँदैनथ्यो कि !’, ज्ञानबहादुर भन्छन्, ‘देश विदेशका डाक्टर लाग्दा त केही चलेन अब हामीले के नै गर्न सकौंला र ! छोराको गति हे¥यो, रोंयो, बस्यो ।’

६ महिनाअघिसम्म तेजबहादुरको अनुहार देख्न नपाउने चिन्ता थियो । साउदीको अस्पतालले नेपालमा उपचार गर्ने व्यवस्था नभएसम्म पठाउन मानेको थिएन । परिवारलाई कहिले देखौँ भएको थियो । त्यतिबेला गंगालाल अस्पतालले ‘उपचार गर्न सकिन्छ, नेपाल ल्याउनू’ भनेको थियो ।

साउदीको अस्पतालले गल्ती गरेबापत् ४१ लाख रूपैयाँ दिएर डाक्टरको टोलीसहित नेपाल ल्याइदिएको थियो ।

अब न त्यो ४१ लाख रह्यो, नत उपचार नै भयो ।

हुन त साउदीमा पनि ६ महिना राख्दा बीसको उन्नाईस भएको थिएन । नेपाल ल्याएपछि तेजबहादुर आज परिवारको साथमा छन् ।


बालख छोराले बाबुको अनुहार देख्न पाएका छन् । जवाफ नफर्काए पनि सोध्न पाएका छन्, ‘बाबा किन बोल्नुहुन्न ?’ अनि, आमालाई घुर्की लगाउन पाएका छन्, ‘बाबालाई भन्दिऊँ ?’

तेजबहादुरको मुखमा अक्सिजनको पाइप छ । डेढ लाख रूपैयाँमा किनेको खकार सफा गर्ने मेसिन छेउमै छ । अनि, पिसाब सफा गर्ने पाइप पनि । साउदीबाट ६ महिनाको छुट्टीमा आएका तेजबहादुरले २०६८ सालमा बिहे गरे । दुई महिनापछि फेरि साउदी गए । त्यसपछिको समय साउदीमै बिताए । जुन दिन साउदीबाट बिदा भएर घर फर्किए सकुशल फर्किएनन् ।

सुनिता भन्छिन्, ‘यस्तो होला भन्ने त सोचेको पनि थिइनँ । नानी पनि सानै छ, उहाँलाई एकछिन छाड्न मिल्दैन, सासै मात्र छ । बस्नलाई घर त छ, तर जिउने विकल्प छैन ।’ हो पनि, नागरिकता पल्टाएर हेर्दा उनको नाम ‘तेजबहादुर’ छ । बस् ! तेजबहादुर । तर, उनको शरीरमा भने ‘तेज’ छैन । साभारः जनतापोष्ट दैनिक

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post