sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङमा बसपार्क बाहेकका स्थानमा बस पार्किङ गरे कडा कारबाही

खोटाङ चैत्र–१, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दुई वटा बसपार्क रित्तै हुँदा पनि सडकपेटी लगायतको स्थानमा बस पार्किङ गर्न नछाडे पछि कडा कार्बाही गर्न थालिएको छ । नगरपालिका–१ आचार्य गाउँ र २ नम्बर वडा सोल्मामा बनेको बसपार्कमा पार्किङ गर्नका लागि पटक–पटक गरेको आग्रहलाई बेवास्ता गरेको पाइएपछि नगरपालिका कडा कार्बाहीमा उत्रिएको हो । 

दिक्तेलको रत्नपार्क क्षेत्रमा पार्किङ गरिएको ६ वटा बसको चाबी कब्जा गर्दै अब नियम नमान्ने जोकोहीलाई कार्बाहीको दायरामा ल्याउन मेयर दिपनारायण रिजालले बताउनुभयो । यातायात व्यवसायीलाई बसपार्कमा बस तथा जीपलाई हाटडाँडास्थित जीप पार्कमा पार्किङ गर्न पटक–पटक आग्रह गर्दा पनि नटेरेकोले कार्बाहीमा उत्रनुपरेको मेयर रिजालको भनाई छ । 

सडकमा पार्किङ गरेर बस तथा जिप राख्दा पैदल यात्रुको आवतजावतमा असर पु¥याएको तथा बजार अव्यवस्थित देखिएको भन्दै नगरपालिकाले पटक–पटक हरेक सवारी साधनलाई बसपार्कमा लैजान आग्रह गर्दैआएको छ । 
‘यति धेरै अटेर गर्नुभयो साथीहरुले, यति धेरै की अब चैं सिमा रहेन ।’ मेयरले आक्रोस पोख्नुभयो–‘प्रधानमन्त्रीको, राष्ट्रपतिको कसैको सोसफोर्स आए पनि अब  छोड्नेवाला छैन, अब हामी कडा भन्दा कडा कार्बाही गर्ने गरी उत्रिएका छौं ।’

यता, यातायात व्यवसायीले भने बर्षाका कारण सडक खराब भएकोले पार्कसम्म पु¥याउन नसकिएको बसको चाबी कब्जा गरेर अस्वभाबिकता देखाएकोे आरोप लगाएका छन् । ब्यवसायी भन्छन्–‘मेयर साबले हिलाम्य बाटोमा गाडी वल्लो छेउ र पल्लो छेउ गरेको देख्नुभएन, अहिले सडक किनारमा बस राखेको देख्नुभएछ ।’ सबै भन्दा पहिले सबै मिलेर बसपार्क जाने सडकको सँगसँगै निरीक्षण गर्न ब्यवसायीको माग छ । 

‘नगरपालिकाले गरेको अनुरोधलाई हामीले अटेर गरेका हैनौं ।’ मध्यपहाडी यातायात व्यवसायी सङ्घ खोटाङका प्रमुख धनीराम राईले भन्नुभयो, ‘बस पार्कसम्म पुग्ने सडक राम्रो नभएकै कारण बाध्य भएर यहीँ पार्किङ गरेका हौं ।’ 
सोल्मा बसपार्क जाने बाटोमा पर्ने नगरका दुई नम्बर वडा अध्यक्ष हर्क खत्रीको घर नजिकै, आचार्य गाउँको बसपार्कबाटा फर्कँदा चढ्नुपर्ने उकालो लगायतका स्थानमा  पानी परेको समयमा बस गुड्न नसक्ने ब्यवसायी बताउँछन् । यसअघि पानीझरी पर्दा खराब सडकका कारण गुडाउनु नसक्दा क्युको गाडी बसपार्कमै थन्क्याउनु परेकोले क्युको बसलाई मार परेको पिडा ब्यवसायी सुनाउँछन् ।

यस्तै, जिल्ला प्रशासन कार्यालय खोटाङले अस्थायी रुट पर्मिट लिएर मात्र सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ । गाईघाट–बुईपा–दिक्तेल–टेम्मा–पञ्चमी–खोटाङबजार सडक, दिक्तेल–कटारी–लहान–धरान, दिक्तेल–कटारी–लहान–इटहरी–बिराटनगर लगायतका स्थान ओहोरदोहोर गर्ने बस, ट्रक, ट्याक्टर तथा जीपहरुको संख्या करिब ३ सय रहेका छन् । 
जिल्लामा कटारी–दिक्तेल–मात्तिम–खिदिमा, दिक्तेल–कटारी–काँकडभिट्टा, खोटाङबजार–रसुवाघाट–गाईघाट–लहान–इटहरी–काकडभिट्टा, खोटाङबजार–रसुवाघाट–गाईघाट–लहान–बिराटनगर र खोटाङबजार–रसुवाघाट–गाईघाट–लहान–बिराटनगर सडकमा सवारी साधन सञ्चालन गरिएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post