sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » सडक बनेको आठ वर्षपछि दिक्तेल–खार्मी बस सञ्चालन


खोटाङ फागुन–२७, खोटाङ सदरमुकाम नजिकै रहेको खार्मीमा सडक पुगेको आठ बर्षपछि यात्रुबाहक बस पुगेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आईतबारदेखि नियमित सञ्चालन हुने गरी यात्रुबाहक बस सेवाको उद्घाटन गरिएको हो । 

दिक्तेलबाट १५ किलोमिटर टाढा पर्ने खार्मीका लागि नियमित बस सेवा जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले रिबन काटेर उद्घाटन गर्नुभएको हो । सडक मर्मत उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा खार्मीका स्थानीयवासीले बस र चालकलाई फूलमाला र अबिरले स्वागत गरेका थिए ।  

करिब आठ वर्ष पहिले निर्माण गरिएको दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडकको खार्मीसम्म मर्मत गरेपछि खोटाङ यातायात व्यवसायी सङ्घले आइतबारबाट नियमित बस सेवा शुरु गरेको हो । सडक मर्मतका लागि यस वर्ष नगरपालिकाले रु ४० लाख रकम छुट्याएको मर्मत उपभोक्ता समितिका अध्यक्ष श्यामकुमार राईले जानकारी दिनुभयो ।

करिब चार घण्टा पैदल यात्रा गरेर पुगिने खार्मीमा दिक्तेल–खार्मी नियमित बस सेवा शुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् । बिहान घरबाट खाना खाएर बस चढेका व्यक्ति दिक्तेलस्थित कार्यालयको काम सकाएर पुनः बेलुका बास बस्न घरैमा पुग्ने भएपछि स्थानीयवासी हर्षित भएका हुन् । 

दिक्तेल–खार्मी बस सेवा शुरु भएपछि खार्मीसँगै पाथेका, बास्पानी, बाक्सिला, सप्तेश्वर, सुङ्देल, दिप्सुङ लगायतका स्थानीयलाई आवतजावतमा सहज भएको छ । नगरपालिकाको १५ वटा वडामध्ये खार्मीमा सबैभन्दा पछि यातायात सेवा शुरु भएको हो । 

दिक्तेलबाट खार्मीसम्मको रु २५० भाडा कायम गरिएको सो सडकमा दिक्तेलबाट बेलुका साँढे तीन बजे र खार्मीबाट बिहान ८ः१५ बजे बस छुट्ने तालिका समेत सार्वजनिक गरिएको छ । 


दिक्तेल–खार्मी सडक स्तरोन्नतिका लागि नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको नगर प्रमुख दिपनारायण रिजालले बताउनुभयो । खार्मीबाट बाक्सिला हुँदै भोजपुरसम्म जोडिने उक्त सडकको सुङ्देलसम्म ट्र्याक खोली सकिएको छ । सो सडक सञ्चालनमा आउन सके सदरमुकाम दिक्तेलबाट खोटाङ, भोजपुर, संखुवासभा र सोलुखुम्बुको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरी जाने सबैभन्दा छोटो मार्ग बन्नेछ । 

निक्कै महत्वका साथ हेरिएको दिक्तेल–खार्मी सडकमा नियमित बस सेवा उद्घाटन कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, यातायात व्यवसायी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post