sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » “नायाग्रा फल्स”सँगै बहेको एक भुपु लाहुरे : संस्मरण

                                                                                         
                                                                                                                               -भीम राई 

२२ अगस्ट २०११ | वाशिंगटन डिसी बाट टोरोन्टो जादै थियौ | तारा, म अनि छोरी | रोनाल्ड रेगन बिमानस्थलको सानो अध्यगमन पार गर्यौ | र ‘एयर क्यानडा’ को प्रतिक्षामा बस्यौ | बास्तबमा यो अमेरिकाको घरेलु विमानस्थल हो | तै पनि यहा बाट क्यानडा जान मिल्दछ | हाम्रो जहाज आई पुगेको थिएन | त्यसैले केहि समय कुर्नु पर्ने भयो | नजिकै भट्टी पशल बाट एक ग्लास ‘व्हाइट वाइन’ लिए | अनि प्रतिक्षालयमा थच्चकै बसे | र जहाजहरुको उडान र अवतरणको रमिता हेर्न थाले | 

एउटा अमेरिकन एयरले धावन मार्ग टेक्नै आटेको थियो, तर अचानक अकासियो | धावन मार्गमा अर्को जहाज उडन तयार हुदै थिए | त्यसैले अवतरण गर्नै आटेको जहाजलाई सायद ‘गो राउण्ड’ भनियो होला | जहाज चालकहरुले प्रयोग गर्ने शब्दहरु ‘गो राउण्ड’ अनि ‘मे डे’ मलाई मन पर्ने शब्दहरु होइनन् | त्यै पनि समय समयमा यस्ता परिस्थिति आई पर्दछ | यसरि डिसी एयर ट्राफिक कन्ट्रोलले त्यो जहाजलाई ‘गो राउण्ड’ गर्न पठाउदाको त्यो क्षण मलाई असाध्यै नरमाइलो लाग्यो | अनि त्यसले मलाई एउटा पुरानो खाटा बसेको घाउलाई पुन: कोट्याए झैँ भयो | 

३१ जुलाई १९९२ मा त्रिभुवन बिमानस्थलमा बस्नै लागेको थाई एयर लाई पनि ‘गो राउण्ड’ गर्न पठाइयो | त्यस गो राउण्ड बाट दुर्भाग्यबस टीजी ३११ फेरी फर्केर विमानस्थल आई पुग्न सकेनन् | जसमा यात्रा गरि रहेका ११३ जना यात्रीहरु यस धर्ति बाट सधैको लागी बिदा भए | साथै मेरो एक जना अशल मित्र पनि गुमाउनु पर्यो | त्यसैले आज डिसीमा आफ्नै आँखाले देखेको यो ‘गो राउण्ड’ ले मेरो हृदयमा कता कता चिसो पस्यो | 

एयर क्यानाडाको जहाज आई पुग्यो | त्यसपछी जहाजमा ‘बोर्ड इन’ भयौ | जहाजमा कप्तान क्यारोलाइनले स्वागत गरिन | साथै ढिलो भएकोमा क्षमा मागिन | आज सम्म जहाजमा कति यात्रा गरियो | ठेक्कै यकिन भएन | महिला सह-चालकहरु धेरै भोगेको थिए | तर महिला कप्तान प्रथम पटक भोग्दै थिए | त्यहि भएर मलाई दोश्रो पटक हल्का पिर पर्यो | अघिको गो राउण्डले घोप्टे भिर र अहिलेको महिला कप्तानले ओन्टारियो तालको सम्झना आयो | किनभने डिसी बाट टोरोन्टोको उडान मार्ग ठेक्कै ओन्टारियो ताल माथी पर्दथ्यो |

हाम्रो हवाई यात्रा लगभग साढे एक घन्टाको भयो | त्यसपछि जहाज पियरसन बिमानस्थलमा अवतरण भयो | कप्तान क्यारोलाइनलाई मनमनै धन्यबाद दिए | अनि अध्यागमन तर्फ लाग्यौ | अध्यागमन अधिकृत भारतीय मुलका नारी रहेछिन् | तिनले प्रश्न माथि प्रश्न थोपरिन | किन क्यानडा आएको ? कति बस्ने ? कहा बस्ने ? के खाने ? नाना भाति |  

उनले नया दिल्ली अध्यागमनको याद राम्ररि दिलाईन | भुलेर पनि जिन्दगीमा ‘दिल्ली’ जान्न भनेर कसम खाएथे | तर टोरोन्टोमा लिटिल इन्डिया छ भनेर म निर्दोष लाई के थाहा ? यिनीहरुको अगाडी नेपाली थोपडा लिएर हिड्नु पनि ब्यार्थे छ जस्तो लाग्यो | नत्रभने कम्बोडिया देखि कोलम्बिया सम्म पुग्दा यस्तो झमेला खेप्न परेको थिएन | अझै यस्तो लाग्यो | यिनका सन्तानले चुंगकिंग मेन्सन हंगकंग देखि साउथहल लन्डन हुदै ज्याक्सन हाइट न्युयोर्क सम्म नै मलाई पेलेका छन् | र उनीहरु संग मुकाबेला गर्न नसके पश्चात जिन्दगीमा तितो अनुभब मात्रै संगालेर बसेको छु | अनि आज फेरी टोरोन्टोमा त्यो बोझको भारी माथि सुफाडी थपियो |  

मुस्किलले अध्यागमन बाट बाहिर निस्कियौ | बाहिर निस्के पछी एकजना कुहिरेलाई रेल स्टेसन देखाई माग्यौ | किनभने रेल बाट टोरोन्टो जाने योजना बनेका थिए | उनले स्टेसन देखाई दिए | र जुनै रेल चढे पनि सिटीनै पुर्याउछ भने | त्यहा पुगे पछी मात्र यो अन्तिम स्टेसन रहेछ भन्ने चाल पाए | अब ‘यु पी एक्सप्रेस’ को रेल समातेर टोरोन्टो युनियन स्क्याएर तर्फ लाग्यौ | स्क्याएर पुगे पछी अग्रिम बुक गरेको ‘होटल मारिओट’ नजिकै थिए |   

होटलमा ‘चेक इन’ भइयो | छोरीले चाइनिज खाना खाने रहर गरिन | त्यहि भएर बेलुकी ‘चाइना टाउन’ जाने योजना बने | होटलले ट्याक्सी बोलाई दिए | आजभोली हिडडुल गर्दा साइत हेर्ने चलन छैन | त्यसैले आज ‘चौका’ दाउ परेछ | किनभने ट्याक्सी चालक फेरी छिमेकी मुलुकका | अघि अध्यागमनमा बिच्केकी तारा चालक देखे पछी झसंग भइन् | होइन के हो ? ‘क्यानाडा हो कि मिनी इंडिया हो ?’ ताराले भनिन् | यिनका बा ले बुझलान नी, बिस्तारै बोल्नु छोरीले जबाफ फर्काइन् |

ट्याक्सी चालक संग हल्का परिचय गरे | उनि नागपुर देखि खाडी, साइप्रस, ग्रिस, फ्रान्स र अमेरिका हुदै टोरोन्टो आई पुगेका रहेछन | ठेक्कै १५ वर्ष लागेछ, यहाँ आई पुग्न | यसो सोचे | यिनले घर छाडेर यहा आई पुग्न लागेको समयमा त गोर्खा पेन्सन पो पाक्ने रहेछ, बाबै भने | हाम्रो टोरोन्टोमा पहिलो दिन थियो त्यहि भएर मौकाको फाइदा लिदै यिनले कता कता घुमाए | निक्कै समय पछी ‘चाइना टाउन’ को एउटा रेस्टुरेन्टमा झारी दिए | खाना खाई सकेपछी अर्को ट्याक्सीमा होटल फिर्यौ | त्यति बेला पो नागपुरको मानिसले ट्याक्सीमा टोरोन्टो मज्जाले घुमाए छन् भनेर चाल पाए | 

भोलि ब्रेकफास्ट पछी टोरोन्टोको यात्रा सुरु भयो | पहिले नम्बर वान ‘योंग स्ट्रीट’ लाग्यौ | जहा बाट सुरु भएको यो बाटो १८९६ किलोमिटर टाढा गएर अन्त हुन्छ | जसले गर्दा यो बाटो संसारको सबै भन्दा लामो हुन गएको छ | अमेरिकाको ‘रुट ६६’ अति प्रख्यात भए पनि यो जति लामो छैनन् | यसको निर्माण सन १७९५ बाट सुरु गरिएको थियो | म जाबो आफ्नो घर बुईपा बाट काठमान्डू धुले बाटो प्रयोग गर्ने मानिसले यहा पुगे पछी संसारको सबैभन्दा लामो बाटोमा पैताला राख्न पाइयो भनेर दङ्ग परे | 

दिउसो लन्च पछी ‘सिएन टावर’ तर्फ लाग्यौ | यसको उचाई १८१५ फिट र निर्माण १९७३-७६ मा भएको हो | यो टावर सन् २००७ सम्म संसारको सबैभन्दा अग्लो रहन गएको थियो | छोरीले यहा आउँदा यसको ‘अब्जरभेसन पोस्ट’ सम्म जानु पर्छ भनेकी थिइन् | तर नजिकै जमिनको सतह बाट अब्जरभेसन पोस्ट हेरे पछी मेरो बिचारमा आमुल परिवर्तन भयो | आमा छोरी चढनु, म मुनि नै पर्खन्छु भने | म जान नचाहे पछी उनीहरु पनि गएनन् | तर मलाई संसारको त्यी अग्ला टावरहरुको नजिक पुगेर बिताएका क्षणहरुको केहि याद आयो |    

पहिले ‘नामसान टावर’ सिओल ७७७ फिट चढेको थिए | पेरिसको ‘इफेल टावर’ ९८४ फिटको तेश्रो तला मरेर पुगे | त्यस पछी न्युयोर्कको ‘एम्पाएर स्टेट बिल्डिङ्ग’ १२५० फिट चढे | यसको १०२ तलामा पुगे पछी म त्यसै डरपोक भए | के भयो भयो, झन्डै भित्रि बस्त्रमा पिशाब फेरे | त्यहा बाट रमिता हेर्न भन्दा कतिबेला लिफ्ट आउछ अनि जमिनमा झरौ भए | दुबाईको ‘बुर्ज खालिफा’ २७१७ फीट अग्लो छ | अनि अहिले सम्म संसारको सबैभन्दा अग्लो टावर भएर रहेको छ | त्यहा पुगेर बादल भन्दा माथि रहेको टावरको टुप्पो देख्न नै सकिन | त्यै पनि टावरको वरि परि घुमे | कम्बरमा हात राखेर फेरी उकालो हेरे | सिरको टोपी भुइमा झर्यो | यो शुभ साइत होइन भनेर त्यतिक्कै फर्के | 

मलाई संसारको दोश्रो अग्लो घर पनि हेर्ने अवसर जुरे | ‘शंघाई टावर’ २०७३ फिट अग्लो छ | हेर्दै नाच्न नजान्ने नर्तकी जस्ती बाङ्गिएर उभिएकी छे | ताराले यति टाढा आई पुगे पछी चढने होइन भन्दै थिइन | तर मैले अर्को पटक भनेर टारे |  

अर्को दिन ‘टोरोन्टो आइल्याण्ड’ तर्फ लाग्यौ | आइल्याण्ड जाने ‘फेरी’ बाट यहाँ करिब १५ मिनेटमा पुग्न सकिन्छ | विभिन्न दिपहरु मिलेर बनेको यो दिप समुहलाई ‘टोरोन्टो आइल्याण्ड’ भन्ने रहेछन् | जहा हरित पार्क अनि पौडी खेल्ने ‘बीच’ हरु रहेका छन् | जस मध्य ‘हानलान्स पोइन्ट’ पर्यटक हरुको मुख्य आकर्षणको केन्द्र बिन्दु रहेछ | यो लगभग एक किलोमिटर लामो छ | र यसको निर्माण सन् २००२ मा गरिएको हो | जहाँ पौडी खेल्दा लुगा लगाउनै पर्छ, भन्ने कुनै कानुनि बाध्यता छैन | क्यानाडाको भ्यानकुभर र टोरोन्टो यी  दुई स्थानहरुमा यस्ता ‘न्युड बीच’ हरु रहेका छन् | प्रकृति प्रेमी भएर मैले पनि केहि जमर्को गरे तर आमा छोरीको अगाडी असहज महसुस भयो अनि लुरु लुरु फर्के | 

भोलि बिहानको ८ बजे मेगा बस स्टेसन पुग्यौ | र बस बाट नायग्रा फल्स तर्फ लाग्यौ | बस भित्र मनमा नाना थरिको कुरो खेले | नायग्रा फल्स प्राकृतिक ‘आठौ आश्चर्य’ अनि धर्तिको सबैभन्दा आकर्षक स्थान हो | झरना हेर्नका लागि प्रत्यक बर्ष ३० मिलियन पर्यटकहरु यहा पुग्ने गर्दछन | मैले पनि जिन्दगीमा मर्नु भन्दा अगाडी हेर्नु पर्ने प्राथमिकतामा यसलाई राखेको थिए | र आज सोहि पुरा गर्न जादै थिए | 

बसले ठिक १० बजे ‘नायग्रा फल्स’ पुर्याए | यो नायग्रा नदीको पानी ‘एरि लेक’ बाट ‘ओन्टारियो लेक’ मा बहदै गर्दा नदीले बनाएका बिशाल झरना हो | हामी त्यहा पुग्दा बिहानीको सुर्यको पहिलो किरण भर्खर झरनाको फोहरामा पर्दै थिए | जहा बाट निस्केको सप्तरंगी इन्द्रेणीको दृश्य कति मनमोहक देखिन्थे | यसलाई देखेर जो कोहि सजिलै भाबुक बन्न सक्तथे | अचानक हामी तिनै जनाको मुख बाट ‘वाह’ बाहेक अन्य कुनै शब्द फुटेन | ‘राइन फल्स’ स्विटजरल्याण्ड संग हल्का तुलना गर्यौ | किनभने हामी त्यहा पुगी सकेको थियौ | त्यति बेला युरोपको यो सबैभन्दा ठुलो झरना देखेर दङ्ग परेको पहिलो अनुभब थियो | 

कछुवा गतिमा हिड्दै गयौ | ‘मेड अफ द मिस्ट’ को डांडाबाट ‘हर्स सु फल्स’ अनि क्रमस: ‘अमेरिकन फल्स’ र ‘ब्रिडल भेल फल्स’ को प्रथम नजर लगायौ | समग्रमा यी तिनै वटा झरनाको सम्मिश्रण ‘नायग्रा फल्स’ हो | हर्स सु फल्स १८८ फिट गहिरो झरेको छ तथा यसको चौडाई २६०० फिट छ | र यो क्यानडाको साइडमा पर्दछ | बाकी अन्य दुई भने अलिक सानो तथा अमेरिकन साइडमा छन् |  

त्यस पछी ‘मेड अफ द मिस्ट’ डुंगा (बोट) यात्राको लागि नदीमा झर्यौ | छेउमा रहेको निलो प्लास्टिकको ओभर कोट लगाएर तयार भयौ | यसलाई नायग्राको प्रख्यात सेल्फी पहिरन मानिन्छ | यहाका प्रत्यक डुंगाहरुले लगभग दुई सय जना यात्रुहरु बोक्दछन् | र ‘हर्स सु फल्स’ को गहिराई सम्म पुर्याउछन् | डुंगा सन्तुलन नभएको समयमा यात्रुहरु बाट निस्केको चिच्याहटले समग्रमा रमाइलो महसुस गराउदथे | अझै कुनै बेला क्यानडीयन र कुनै बेला अमेरिकन पानी हुदै हर्स सु फल्सको फेद सम्म पुग्दा स्वर्गीय आनन्द लिएको महसुस भयो | 

केहि समय पछी अचानक तिब्र गतिमा डुंगा फर्काइयो | यात्रुहरुलाई मनोरन्जन होस भनेर यो पुर्व योजना रहेछ | जसले गर्दा यात्रुहरु केहि उत्साहित त भए | तर डुंगा भित्र धेरै पानि पसेर यात्रुहरु बिजोक भएको देखियो | शरीरको कपडा नभिजस भन्नको खातिर लगाइएका प्लास्टिकको ओभरकोट उडेर आकाश तिर बिलिन भए | जिन्दगि यतिक्कै सकिएको रहेछ भन्ठानेर बिचरी छोरीको सुकोमल मुहार अंगारमा परिणत भयो | यसो सोचे | सन् १९५२ मा हलिवुडको प्रख्यात नायिका मार्लिन मुन्रो र सन् १९८३ तत्कालिन कम्युनिस्ट शासक मिखाइल गोर्भाचेवले यो डुंगामा शयर गर्दा पनि यसरि भिजेर लुथुक्क्रै परेका थिए होलान |  

यसरि डुंगाको अविस्मरणीय यात्राले जिन्दगीमा अमेट छाप छाप्यो | त्यस पछी क्यानेडियन साइड बाट ‘हर्स सु फल्स’ को शिर हेर्न गयौ | किनभने मैले क्यानडियन साइड रोजेको थिए | अमेरिकन साइड संगको दृश्य तुलना गर्न केहि अध्यान गरेर यो निर्क्योल निकालेको हुँ | हो, साच्चै यहि बाट अति उतम नजर लगाउन सकिने रहेछ | 

पर्खालको नजिकै पुगेर उभियौ | यहा बाट देखिएका पानीको रंगिन फोहराको दृश्य सायद शब्दमा जति राम्रो बर्णन गरे पनि अपूर्ण हुन्छ | साच्चै, यो धर्ति कति शुन्दर छ | मानिसहरुको कल्पना भन्दा धेरै बाहिरको ‘शुन्दर’ | यो शुन्दरताको बयान म के गर्न सक्तछु ? बिगत दश हज्जार बर्ष देखि यता यो दृश्य यहा बाट क्रमस: देखि रहेको छ | अनी अझैँ आज पर्खाल चढन बन्देज गरिएको रहेछ | किनभने हिजो एक जना जापानिज युवतीले त्यहा बाट छाता ओढेर तस्बिर लिने क्रममा झरनामा खसेकी रहिछे | तस्बिरले बिचरिको ज्यान नै गयो | अह ! अहिले सम्म पनि उनलाई भेटाउन सकिएको थिएन | 

मैले सुनेथे | यहा पुग्ने जो कोहि रसिक हुन्छन रे | आज तारा पनि यहा आई पुगे पछी भावनामा चुर्लुम्मै डुबिन जस्तो लाग्यो | बिचरी उनको हृदय पनि असाध्यै कमजोर छे | अरुको दुखमा सजिलै दुखि हुन्छे | ‘नायाग्राको पानीले नजर मात्रै बगेन मन नै बहिरहेको छ,’ उनले भन्दै थिइन् | छोरो हामी संग आउन मानेनन्, मलाई उनको यादले झन अर्को बोझ थपिन गयो सम्म भनिन् | सायद झरनाको फोहोरा बाट निस्केको भिमकाया धुवा भित्र उनको मन रुमलि रहेकी होलिन् | निस्चय नै म चाहि “नायाग्राको झरना संग मेरो मन” बहाई रहेको छु | 

बेलुकी टोरोन्टो फर्क्यौ | जिन्दगीमा कति सहरहरु पुगे | राम्रा एबम नराम्रा | समग्रमा टोरोन्टो अति सफा अनि शुन्दर लाग्यो | टोरोन्टो पटक पटक जादा रमाइलो नै होला जस्तो अनुभूति भयो | सहरको सबैभन्दा राम्रो पक्ष भनेको मिश्रित सस्कृति र ‘डाईभर्सिटी’ नै रहेछ | जसलाई मैले यस सहरको मुख्य गहना माने | 

आज टोरोन्टोको अन्तिम दिन | भोलि यहाबाट न्युयोर्क जादै थियौ | त्यसैले सहरमा हाम्रो मुहारको अन्तिम पटक प्रस्तुति गर्न चाइना टाउन, कोर्सो इटालिय, ग्रीक टाउन, कोरियन टाउन, लिटिल इन्डिया, लिटिल जमैका र लिटिल पोर्चुगर्ल तिर गयौ | ज्याक्सन हाइट (न्युयोर्क) फार्नबोरो (लन्डन) अथवा जोर्डन (हंगकंग) मा जस्तो नेपाली टाउन भने भेटाउन सकिएन | तै पनि हामी यो यात्रा बाट प्रफुल्ल भयौ | 

केहि समय पछी भाग्यले एउटा नेपालि रेस्टुरेन्ट फेला पार्न सक्यौ | अनि तिनै ‘काठमान्डू रेस्टुरेन्ट’ मा दिउसोको लन्च खान पस्यौ | धेरै लामो समयको अन्तर्हाल पश्चात स्वाद बिर्सेका जिब्रोले मम र छोइलाको स्वाद पाए | हजारौ माईल टाढा परदेशमा छोइलाको स्वाद लिनु भनेको काठमान्डूको काखैमा खानु जतिक्कै माने | दुर्भाग्यबस नेपाली रेस्टुरेन्टमा नेपाली संग भेट हुन सकेनन् | त्यै पनि भुटानी शरणार्थी बैनी संग भएको भेटले ठमेलको तिर्सना मेटियो | तर उनि संग नेपालि भाषा बोल्न नपाउदा भने कता कता जिन्दगीलाई अलिक खल्लो भयो |  

नेपाल बाट बिभिन्न सम्मेलनहरुमा टोरोन्टो आएको सरकारी उच्च अधिकारि देखि मन्त्रिहरु समेतले यहाको भ्रमण गरेका सुनेका थिए | नेपालमा समेत यस प्रकारले बिकास गर्न सम्भब छन् भनेर भाषण गरेको पनि यिनै कानमा सदाबहार गुन्जी रहेका छन् | तर त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल बाट ‘भिआइपि’ कक्ष प्रयोग गरेर बाहिर निस्कने बितिक्कै भुल्ने बानि परेका छन् | अनि हिउदको समयमा बागमती, विष्णुमति, धोबी खोला, टुकुचा र हनुमन्ते बाट निस्कने सुगन्ध संग सेकुवा हसुरे पछी बिकाश कति बेला आकाश बाट खुत्रुक्कै झर्छ भन्ने प्रतिक्षामा बसी रहेका छौ |||||  (लेखक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–बुइपाका पुर्ब बेलायती सेना हुनुहुन्छ ।)




यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post