sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » रोजगार खोज्दै हिड्ने राधिका अरुलाई रोजगार दिँदै

मिनप्रसाद आचार्य/खोटाङ
फागुन–२१, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित बसपार्कमा सञ्चालन गरिएको सामान्य होटल नै राधिका आचार्यको राम्रो आम्दानीको बाटो बनेको छ । भर्खरै स्थापित हुँदै गरेको बसपार्कमा सामान्य होटल ब्यवसायसँगै चटपटे बेच्ने सोही स्थानका राधिकाले सबै खर्च कटाएर दैनिक एक हजार बचत गर्छिन् । 

राधिकालाई आम्दानी, खर्च, लगानी र बचत सम्बन्धी राम्रो ज्ञान भएको कारण सामान्य ब्यवसाय नै राम्रो आम्दानीको बाटो बनेको हो । सुरुमा खेतीपाती र पशुपालन गरेर जिविकोपार्जन गरिरहेकोमा श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा इटाली गएपछि आफैले पनि आम्दानीको बाटो खोज्न शुरु गरेको राधिकाको भनाई छ । 

राधिकालाई ब्यवसाय गर्ने र आम्दानी गर्ने सोँच भने बित्तिय साक्षरता कक्षाबाट पलाएको हो । वैदेशिक रोजगारीमा गएको परिवारका बिप्रेषण प्रापक तथा सञ्चालकलाई दिईने बित्तिय साक्षरता कक्षामा सहभागी हुँदा भएको छलफलबाट आम्दानी, खर्च, बचत तथा लगानी सम्बन्धी जानकारी भएको राधिकाको बताउँछिन् । 

प्रत्येक हप्ता भिन्न–भिन्न विषयहरुमा छलफल गर्दै जाँदा आम्दानी बढाउन कुनै न कुनै व्यवसाय रोज्नु पर्दोरहेछ भन्ने सोंच आएको उनी सुनाउँछिन् । भन्छिन्–‘कमिलाले त घर बनाउँछ भने आम्दानी बढाउन अब केहि उपाय खोज्छु भनि एउटा कटेज भाडामा लिएर होटल व्यवसाय सुरु गरेँ ।’

सुरुमा राधिकाले छिमेकीबाट १ लाख रुपैया ऋण लिएर होटल व्यवसाय शुरु गरेकी हुन् । अगाडी गरिरहेको परम्परागत खेतिपातीको काम भन्दा होटल व्यवसाय गर्दा नै परिवारमा सहज हुने अनुभब राधिकाकोे छ ।
२ छोरी स्कुल पढाईरहेकीे राधिकाको सानो काखे छोरा समेत छन् । बसपार्कमा बिस्तारै ब्यवसाय मौलाउँदै गएपछि हाल राधिकाले बार्षिक तलबमा कामदारको रुपमा एक महिलालाई रोजगारी समेत दिएकी छिन् । विहान ४ बजे देखि साझ ६ बजे सम्म राधिका र कामदार महिलाले होटल सञ्चालनमा  व्यस्त रहन्छन् ।  

अहिले राधिकाले होटलको दैनिक आम्दानी र खचको बिबरण पास बुकमा टिपेर राख्न थालेकी छिन् । ‘आम्दानी गरेर मात्र हुन्न रहेछ, आम्दानीलाई बचत पनि गरेर मात्र खर्च गर्नुपर्छ भन्ने कुरा बित्तिय साक्षरता कक्षाबाट बुझेको थिएँ ।’ उनी भन्छिन्–‘सुरक्षित भविश्यको लागि सहकारीमा खाता खोलेर दैनिक बचत पनि गर्दै आएको छु ।’ 

पहिले नै यस्तो कक्षा सञ्चालन भएको भए श्रीमान वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था नआउने उनको ठम्याईं छ । ‘केहि न केहि व्यवसाय गरेर श्रीमानसँगै भईन्थ्यो होला ।’ भन्छिन्–‘घर–व्यबहार चलाउनको लागि वित्तिय साक्षरता कक्षाले खुब सहयोग गरेको छ ।’ 

बाल सेवा सामाज नेपाल नेर्पा खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी अन्तरगत सञ्चालित बित्तिय साक्षरता कक्षामा सहभागीहरुले कुनै न कुनै हिसाबले खर्च घटाउने र आम्दानी बढाउने काम गरिरहेका छन् ।  

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post