sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » ‘तीन मुलुकको भुक्तमान पछि बल्ल आँखा खुल्यो’


लिला निरौला/खोटाङ  
बैशाख–६, ‘उ बेला गाउँमा पैसाको मुख देख्न निक्कै साईत जुर्नुप¥थ्यो ।’ २२ बर्षको उमेर छँदा २०५८ सालदेखि नै वैदेशिक रोजगारीको बाटो समाउनुभएको पेशल खत्री सुनाउनुहुन्छ–‘भर्खर भर्खर विदेश जाने लहर चल्दै थियो ।’ अलि स्वादिलो पाराले अनुप्रास मिलाउँदै थप्नुहुन्छ–‘घरमा पनि पैसाको दुःख त्यही लहरमा मलाई पनि मलेसिया जाने रहर चल्यो ।’ 

हालको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का खत्री त्यस बेला २ लाख रुपंैया धरौटी झुण्ड्याएर मलेसिया जानुभएको थियो । तर मलेसियामा सोंचे जस्तो एक छेउ पनि कमाई भएन । मासिक जम्मा ४ सय ८१ रिङगिटमा ५ वर्ष मलेसियामै बिताईदिनुभयो ।   सयकडा ३ का दरले ऋण लिएर मलेसिया गएको ब्याज पाकेर डबल भैसकेको थियो । जसोतसो ऋण तिर्न सक्ने भएर २०६३ सालमा उहाँ घर फर्किनुभएको थियो । 

पैसा कमाउने अधुरो सपना जसरी पनि पूरा गर्ने खत्रीको मन फेरि दुबईतिर फर्कियो । एक लाख रुपैंयाँ तिरेर लगत्तै दुवई जानुभएको उहाँको सपना फेरि पनि चकनाचुर नै भयो ।  सोंचे जस्तो काम र दाम नपाए पछि उहाँ ३ महिनामै फरक्क घर फर्किनुभयो । यता, साहुको ऋणको ब्याज भने बढी रहेकै थियो । 

ऋण तिर्ने विकल्प केही नभएपछि फेरि विदेशले विदेश नै पठाउँदैथ्यो पेशललाई । तीन पटक सम्मको प्रयासमा निशाना नचुक्ने धेरैको बिश्वास हुन्छ । कार्पेण्टरको काममा तेस्रो पटक वैदेशिक रोजगारीको लागि कतार जानुभएको उहाँलाई त्याहाँ भने अलि सास आयो । 

पेशलको भनाई छ– ‘मासिक एक हजार रियाल तलब दिन्थ्यो । जे होस कमाई रामै थियो ।’ २८ महिना कतारमा काम गर्नु भएको खत्रीले ऋण तिरेर पनि लगभग ३ लाख रुपैया कमाएर २०७० सालमा  घर फर्किनुभयो ।  

उखान नै छ १२ बर्षमा त खोलै फर्कन्छ । खत्री पनि त्यसपछि भने एकै चोटी गाउँ फर्किनुभयो । विदेशको चक्करलाई चटक्कै छाडिदिनुभयो । 
त्यसपछि दुई बर्षसम्म सामान्य घरखेतिमै अलमलिएको पेशल खत्रीको दिमागमा ‘अब यसरी हुन्न रहेछ’ भन्ने लाग्यो । १२–१२ बर्ष विदेशमा पसिना बगाएको खत्रीको मनको आँखा घरमै बसेर आम्दानी गर्ने ब्यवसायमा प¥यो । 

उहाँ भन्नुहुन्छ–‘हामीले दुई जनाको ६ लाख रुपैंयाँ लगानीमा ४० वटा बाख्रा र दुई सय कुखुराबाट व्यावसाय शुरु ग¥यौं ।’ उहाँको ब्यवसायिको साझेदार खाल्लेकै देवराज खत्री हुनुहुन्छ । उहाँ पनि वैदेशिक रोजगारीमा गई चार बर्षसम्म पसिना बगाएर नमिठो मन लगाउँदै घर फर्कनुभएको हो ।  

अहिले बाख्रा–कुखुराको स्याहार सुसार गर्नु खत्रीद्वयको दिनचर्या बनेको छ । 
अहिले यही ब्यवससायबाट मासिक ३० हजार आम्दानी भईरहेकोमा आफ्नो फर्मलाई नमुना फर्मको रुपमा बिकास गर्ने दुई जनाको योजना छ ।  

आफ्नै जमिन, आफ्नै जङगलमा बाख्रा पालन व्यावसाय गर्दा घाँस स्याउलाको लागि समस्या नहुने हुनाले यस ब्यवसाय नै आफ्नो निर्णय भएको उहाँहरुको भनाई छ । 
‘नेपालमा सोंचेर गए भन्दा फरक हुँदोरहेछ विदेश ।’ कुखुरा–बाख्रासँगै रमाईरहनुभएको देशराज भन्नुहुन्छ–‘विदेशमा बगाउने जति पसिना आफ्नै गाउँघरमा बगाउने हो भने विदेशमा भन्दा राम्रो कमाई यहीँ गर्न सकिन्छ ।’ 

दुई जनाकै घरपरिवार छन् । भन्छन्–‘घरपरिवारकै साथमा रहेर जीवन जीउन पाउनु नै सबैभन्दा ठूलो कुरा हो ।’

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post