sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » भेडाबाख्रासँगै रमाईरहेका तामाङ र गुरुङको कथा


सन्तोषकुमार राई/खोटाङ
चैत्र–२०, चारैतिर हरियाली, छेउछेउमा जंगल, उसै रमाईला डाडाँ अनि खर्कहरु । यसो उँधो उत्तर–पुर्बतर्फ दिक्तेलबजारलाई मज्जाले छाम्न सकिने । आँखाँहरुलाई देब्रे घुमाउँदै सोल्मा, नेर्पा, पाथेका, जालपा, हौंचुर, नुन्थला घुमाएर फेरि दिक्तेलमै थुराउँदा देखिने ग्रामिण दृश्यहरु ‘आहा’ लाग्छ ।   

हो, खोटाङ सदरमुकाम दिक्तेलबजारको उत्तरमा अवस्थित पर्यटकीय रुपाकोट डाडाँ यसै पनि रमणीय छन् । लालीगुराँस, चाँप, सुनाखरी, सुनगाभा लगायतका फुलहरु अनि जैबीक बिबिधतायुक्त सेरोफेरोमा लस्करै भेडाबाख्रा डुलाउँदैछन् अधबैंशे कमल तामाङ र ढल्कँदो उमेरको बिर्खबहादुर गुरुङ । 
निलो खर्कभरि सेतो, कालो बिभिन्न रंगको भेडा–बाख्रा अनि पाठापाठीहरुको रहर लाग्दो बिचरणसँगै लेकाली बतासको हरक लिँदै जीवनलाई आनन्दित तुल्याउँछन् यी दुई परिवार । 

वैदेशिक रोजगारीको शिलशिलामा साउदी पुगेर ढाड पिल्साएर आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.२ मुडेका कमल तामाङ्ग र सोही नगरपालिका–१५ का बिर्ख बहादुर गरुङ्ग हाल भेडाबाख्रा पाल्दै लेकाली डाँडापाखा, झोर जंगलमा रमाई रहेका छन् । उहाँहरुले यो काम गरेको ५ बर्ष भयो । घरखेती परिवारका अरु सदस्यलाई जिम्मा लगाएर  उनीहरु लेकाली गोठमा श्रीमतीहरुसँग बस्दै छन् । दुई परिवारको गोठ नजिकै रहेका छन् ।
रुपाकोट डाँडाको आठधार्ने भन्ने स्थानमा बिहानीको झुल्के घामसँगै २०–२२ वटा भेडाको दुध दुहुनु र   दुईसय बढी भेडा र बाख्राको रेखदेख गर्नु उहाँहरुको दैनिकी बनेको छ । 
यी दुईको  कथा पनि झण्डै उस्तै छ । दुवै परिवार भेडा पाल्छन् । अनी दुवै विदेशको स्वाद चाखेर फर्केका हुन् । र, दुवैको विदेशको भोगाई पनि झण्डै उस्तै छ ।
  
कमल तामाङ्गको पशुपालन गर्ने जाँगर त्यत्तिकै आएको होईन । कुवेतमा डेढ बर्ष र कतारमा ९ बर्ष काम गर्दा पनि आफ्नो आर्थिक अवस्थामा खासै सुधार नभए पछि स्वदेशमै गर्दा पो हुन्छ कि भनेर  उहाँ फर्कनुभयो । त्यसपछि बाख्रा र भैंसी पाल्नुभयो । बिदेश जानु भन्दा पहिला पनि भेडाबाख्रा पाल्नुभएका कमलले ति सबै बेचेर ५० हजार बुझाएर कुवेत जानुभएको थियो । कुवेतमा काम र दाम राम्रो नभए पछि भेडा बेचेर गएको पैसा मरितरी तिर्नुभयो । कमार्ई हुने छाँट नदेखेपछि उहाँी डेढ बर्षमै नेपाल फर्किनुभयो ।

कुवेतमा कमाई नभएपनि विदेशमा भाग्य जमाउने उहाँको रहर मरेको थिएन । सन् २००२ तिर उहाँ फेरी कतार उड्नुभयो ७० हजार तिरेर । कतारमा भने कुवेतमा जस्तो गाह्रो काम परेन । स्टोरमा सहयोग गर्ने काम पाउनुभयो उहाँले । तलव थियो ८ सय रियाल । खाना र बस्ने बास सबै कम्पनीले नै दिन्थ्यो । 

घरमा खाने मुख मात्रै बढेका थिएनन् । पढाई खर्च पनि बढ्दै थियो । २ छोरा, २ छोरीको पढाई खर्च र घर खर्च हरेक महिना घर पठाउनु पथ्र्यो । बीचमा छुट्टीमा घर आउँदा पनि ठूूलै खर्च हुन्थ्यो । छोरा छोरी पढाएर अनी खेतीपाती लगाउन खेताला लगाउँदाको पैसा तिर्दैमा कतार बसाईको ९ बर्ष ठिक्क भएको कमल सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘९ बर्ष कतारमा काम गर्दा उमेर त बढ्यो तर तलव खासै बढेन ।’ 
कतारको कहर कहनुभयो–‘८ सयबाट सुरु भएको तलव बल्लतल्ल ११ सय रियाल पुग्यो त्यहि पनि कम्पनी घाटामा गएपछि घर फर्किएँ ।’ 
उहाँले नेपाल आएर उहि पुरानै पेशा पशुपालन सुरु गर्नुभयो । पुरानै पेशाले उँभो लगाउने छेकछन्द देखायो । ९ बर्ष बिदेश बस्दा घर खर्च मात्रै टरेको थियो, स्वदेशमा नै पालेको बाख्राबाट घर खर्च कटाएर बार्षिक १ लाख ६० हजार भन्दा धेरै बचत हुन थाल्यो ।

अहिले  माउ खसी र बोका गरि ६७ वटा बाख्राहरु ३ माउ भैंसीहरु छ कमलसँग । बाख्राकै आम्दानीबाट कान्छी छोरी काठमाडौमा बसेर पढ्दैछिन् । जेठी छोरीको विहे खर्च पनि त्यही आम्दानीले टरेको कमलको भनाई छ ।
हुन त खटाई विदेशको भन्दा कम छैन स्वदेशको । तर  आफ्नै ठाउँमा बसेर गरेको काम र भइरहेको कमाईले सन्तोष दिएको छ कमललाई । 
स्वदेशमा नै मेहनत गरे पैसा कमाउन विदेश जानै नपर्ने  कमलको ठोकुवा छ । हाल कमल खाडी मुलुकमा पिल्सिएको ढाड सञ्जिवनी हावापानीमा सेकाउँदै गरेको महशुष गर्नुृहुन्छ । 


  यता, हाल गोठको छिमेकी बन्नुभएको बिर्खबहादुर गुरुङको कथा पनि उस्तै छ । उहाँ ६ बर्ष कुबेत र साउदीमा बिताएर फर्कनुभएको हो । बिदेशको कमाईको नाममा उहाँले ईटहरीमा १ कट्ठा जग्गा किन्नुभएको छ । अनी विदेशमा कमाएको केहि पैसा लगानी गरेर उहाँले भेडा पालन थाल्नुभएको हो । उहाँले पनि त्यहि जग्गा किन्नु र केहि भेडामा लगानी गर्नु बाहेक घर खर्चमै सवै रकम सकिएको बताउनुभयो ।


घर खर्च मात्र टार्न सधैं विदेश दौडिनु ठिक हुन्न भन्ने बुझेर ५ बर्ष यता भेडापालनमा लाग्नुभएको बिर्खबहादुर  अहिले यसमै सन्तुष्ट हुनुहुन्छ  । उहाँको पनि बार्षिक कमाई सबै खर्च कटाएर झण्डै दुई लाख हुने गरेको छ । बिदेशमा जस्तो न तातो घाम छ, न अत्यास लाग्दो मरुभूमि छ रुपाकोटमा । रुपाकोटमा त सित्तल, स्वच्छ हावापानी, हराभरा फाँट र रमणीय जंगलहरु छन् । 
 न कसैको डर त न कसैको दवाव । त्यसैले  रुपाकोटको गोठ उहाँका लागि सवैथोक हो अहिले ।

अहिले बिर्खबहादुरको गोठमा १ सय ६ वटा भेडा, १३ वटा बाख्रा छन् । खेतीपाती छोराबुहारीले सम्हाल्छन् । गोठ सम्हालेर बस्नुभएको बिर्खबहादुर र उहाँकी श्रीमती चाहिँ बर्षातको समयमा माथिल्लो पहाडी लेकहरु साल्पा, मेरुङ, मयुम, सोलु, भोजपुरको सिमानासम्म भेडा लिएर पुग्छन् अनी हिउँद लागेपछि तल झर्छन् । 


बिर्खबहादुरको भनाई छ–‘स्वदेशमा नै गरिखान त सकिने रहेछ तर त्यो बुझ्न पनि एक पटक खाडी पुग्नै पर्दो रहेछ ।’
वैदेशिक रोजगारीमा गई फर्केका जिल्लाका अधिकांश स्थानीयले हाल आफैले छाडेको बिभिन्न पेशालाई ब्यवसायिक तथा दीगो आम्दानीमूलक ढंगले पूनः शुरु गरिरहेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post