sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » प्राविधिक शिक्षालयका लागि ६७ रोपनी निःशुल्क जग्गा

खोटाङ असार–२१, खोटाङमा बहुउद्देश्यीय प्राविधिक शिक्षालय स्थापनाका लागि स्थानीयले ६७ रोपनी ११ आना २ पैसा २ दाम जग्गा निःशुल्क प्रदान गरेका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गर्न लागिएको प्राविधिक शिक्षालयका लागि ११ जना नुन्थलाबासीले निःशुल्क जग्गा उपलब्ध गराएका हुन् । 

प्रदेश नम्बर १ मा पर्ने सबै जिल्लालाई समेट्नेगरि मध्यपहाडी लोकमार्गमा पर्ने नुनथलास्थित महुरेमा शिक्षालय स्थापना गर्न लागिएकोहो । प्राविधिक शिक्षालयका लागि उत्तरबहादुर राईले १३ रोपनी १ आना २ पैसा ३ दाम, गंगादेवी राईले १० रोपनी १४ आना १ पैसा, अर्थबहादुर राईले ७ रोपनी १२ आना १ पैसा, भद्रबुर राईले ६ रोपनी २ आना २ पैसा २ दाम जग्गा निशुल्क प्रदान गर्नुभएको छ । 

यस्तै, कुमारसिं राईले ५ रोपनी १३ आना २ पैसा २ दाम, प्रेम साम्पाङ राईले ५ रोपनी ७ आना १ पैसा, हर्कबहादुर राईले ४ रोपनी ७ आना, देवन राईले ४ रोपनी ३ आना जग्गा प्रदान गर्नुभएको प्राबिधिक शिक्षालय स्थापना अभियन्ता हेमबिक्रम राईले जनाउनुभयो । राईका अनुसार दिपककुमार राईले ४ रोपनी ४ आना २ पैसा २ दाम, पदम राईले ४ रोपनी ५ आना १ पैसा २ दाम र तीनजीत राईले १ रोपनी ८ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । 

जग्गादाताले आफ्नो नाममा रहेको जग्गा बुधबार जिल्ला मालपोत कार्यालयमा आएर शिक्षालयको नाममा निःशुल्क रजिस्ट्रेसन पास गरिदिनुभएको जनाइएको छ । 

करोडौं मुल्य पर्ने जग्गा प्राविधिक शिक्षालयलाई निःशुल्क उपलब्ध गराएका जग्गादाताले महुरेमा यसै वर्षबाट कुनै न कुनै विषयको पढाइ शुरु गर्न काम गरेका छन् । उनीहरुले बुधबार साँझ दिक्तेलस्थित होटल इन्द्रेणीमा पत्रकार सम्मेलन गरेर स्थापना हुन लागेको बहुउद्देश्यीय प्राविधिक शिक्षालयको नाम ‘महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय’ राखिनुपर्ने पनि माग गरेका छन् । 

पत्रकार सम्मेलनमा सहभागी प्रदेशसभा सदस्य एवम् नेकपाका केन्द्रीय सदस्य रामकुमार राई (पासाङ), पूर्व सांसद तथा नेकपाका आमन्त्रित सचिवालय सदस्य टंक राई, पूर्व सभाषद् एवम् नेकपाका केन्द्रीय सदस्य दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणदेवी राई लगायतले स्थानीयवासीको जनभावना अनुसार नै शिक्षालयको नामाकरण हुने बताएका छन् । उनीहरुले जग्गादातालाई धन्यवाद दिदै अभियानमा साथ दिन आग्रह समेत गरेका छन् । 

नेपाल सरकार शिक्षामन्त्रालयको आर्थिक सहयोगमा गत वर्षबाटै स्थापनाको पहल थालिएको बहुउद्देश्यीय प्राविधिक शिक्षालयमा यस वर्ष डिजाइन र प्राविधिक मूल्याङ्कनको काम शुरु हुने पत्रकार सम्मेलनमा सहभागी सिटीइभिटीका उपनिर्देशक रमाकान्त काफ्लेले जानकारी दिनुभयो । 

 उहाँले शिक्षालयमा सीप भएका तर प्रमाणपत्र नभएका व्यक्तिले समेत आफ्नो सीप अनुसारको प्रमाणपत्र हात पार्ने जनाउनुभयो । उक्त शिक्षालयलाई सरकारले उच्च प्राथमिकताका साथ अगाडि बढाउने योजना बनाएको उल्लेख गर्नुभयो । 

प्राविधिक शिक्षालयमा छोटो अवधिका तालिम, प्रि एसएलसी र डिप्लोमा तहका सबै विषयको पठनपाठन हुने जनाइएको छ । प्राविधिक शिक्षालयमा प्रदेश नं. १ मा पर्ने १४ वटै जिल्लाका विद्यार्थीलाई सहभागी गराइने छ ।  






यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post