sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » धरानको ‘टोपा’ मिथ्थकीय नाटककार


खोटाङ जिल्लाको सुदुर दक्षिणको गाउँ चिसापानी पाथीभारामा जन्मेका नेपाली नाटकमा मुन्धुमी मिथ्थकलाई प्रवेश गराउने यूवा नाटककार तथा रंगकर्मी हुन् प्रविण पुमा । नेपाली चलचित्रहरुमा हिरोको भुमिकामा आउने सपना बोकेर काठमाडौँको शहर छिरेका पुमा नेपाली मुलधारका चलचित्रमा हिरो त बनेनन् तर किराती मिथ्थकमा आधारित केही चलचित्रहरुमा भने मुख्य भुमिकामा देखिए । परम्परावादी नाटक लेखनको लामो श्रृंखलालाई भंग गर्दै उनले फरककथामा आधारित नाटकहरुको लेखन तथा निर्देशन गरे । नेपाली नाटय क्षेत्रले खास प्रगती नगर्नुको कारण विदेशी नाटकहरुको प्रोत्साहन गर्ने संस्कृति रहेको बताउने पुमा हाल काठमाडौं कोटेश्वर स्थित रत्नशिक्षा पव्लिक क्याम्पसका क्याम्पस प्रमुख समेत रहेका छन् । उनै बहु आयामिक व्यक्तित्व प्रविण पुमा सँग गरिएको कुराकानी ।

अहिले खास के मा व्यस्त ?
अं अहिले खास सृजनात्मक नया कामको शुरुवात भएको छैन । कलेज(रत्नशिक्षा पव्लिक क्याम्पस)को काममा अलि व्यस्त रहिएको छ । बाँकी समय इण्डिजिनियस टेलिभिजनमा कार्यक्रम संचालन, बौद्धिक बहसका कार्यक्रमहरुमा उपस्थिती तथा साँस्कृतिक तथा सिर्जनात्मक कामहरुमा सहभागिता यस्तै यस्तैमा व्यस्त छु ।

तँपाईको बाल्यकाल ?
मेरो बाल्यकाल खोटाङ जिल्लाको चिसापानी पाथीभारामा वितेको हो । मेरो जन्म त्यही भयो एसएलसी सम्म चिसापानी मावि हाल उमाविमा पढेको हुँ । बाल्यकाल अति संघर्षपूर्ण नै बिताईयो । हाम्रो गाउँको नजिकको बजार चिसापानी हो । तर मधेससँग जोडिने बजार भनेको बेल्टार हो । मैले माविमा पढ्नका लागि बेल्टारको नुन चिसापानीमा लगेर बेचेको छु । चिसापनीको सुन्तला बेल्टारमा पु¥याएर बेचेको छु । भनेको भारी बोकेर पढेको हुँ । पहिलो पटक बोकेको नुन बेचेर स्कुलमा नाम लेखाइयो  दोस्रो खेप वेल्टार गएर नुन ल्याएर बेचेपछि कपी कलम स्कुल तेस्रो पटककोले ड्रेस र अर्को पटकको वेल्टार गई घरमा खाने नुनतेल जोहोका गरिन्थ्यो । यस बाहेक बाल्यकालमा अर्काको नक्कल गर्न खुव रहर गर्ने मान्छे थिँए । गाउँमा समुह समुह मिलेर नाटकहरु गर्ने गरिन्थ्यो । धामीको औधी नक्कलपनि गरियो ।  पढ्दै, खेल्दै, रमाउँदै ख्याल ख्यालमै वित्यो हौ बाल्यकाल त ।

उच्चशिक्षाको यात्रा ?
जब चिसापानी माविबाट एसएलसी उतिर्ण भयो पढ्नका लागि धरान झरियो । धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट मैले आइए पास गरेको हुँ । शुरुमा अध्ययनका लागि धरान जानेक्रममा धेरैले आशंका गरेका थिए । अब यो केटो शहरमा बिग्रने भो भनेको सुनेँ । तर त्यस्तो त भएन । हामीले पढ्ने महेन्द्र बहुमुखी क्याम्पसमा हातिछाप चप्पल लगाएर क्याम्पस गईन्थ्यो । त्यहाँ स्तर मिल्ने मन मिल्ने पाँच जना साथीहरुसँग हाम्रो ग्रुप बन्यो । सबै हामी हातीछाप चप्पलवालाहरु थियौँ । धरान त्यति वेला चर्चित फेसनको शहर भईसकेको थियो । यस्तो समयमा हामी हातिछाप चप्पलवालाहरुलाई त्यहाँका कतिपयले ‘टोपा’ भन्थे । त्यो भनेको के भन्ने थाहा सम्म नपाउने हामीले राम्रै होला भनेर लगतार पढाईलाई अगाडि बढायौँ । पछि परिक्षाको नतिजा आउँदा जम्मा २८ सयजना परिक्षा दिने विद्यार्थी मध्ये ३६ जनाले मात्र पास गरियो । हाम्रो ५ जनाको टिम ३६ जना भित्र प¥यो । त्यसपछि ‘टोपा’ भन्नेहरु चुपचाप । हातिछाप चप्पल हाई हाई ।

आइए पास पछि कसरी अगाडि बढ्यो नि जिन्दगी ?
आइए पास गरेपछि खरदारको जागीरमा भिडियो । पासपनि गरियो । खरिदार पास गरेको खबर आएपछि नियुक्तीपत्र लिन चिसापानीबाट सदरमुकमा दिक्तेलबजार जानु पर्ने भयो । त्यसबेला म हिडे की उडेँ थाहा छैन । सामन्यत चिसापनीबाट सदरमुकाम जान मज्जाले हिँड्ने मान्छेलाई एकदिन र आधा पुरै लाग्छ तर म त्यसबेला दिक्तेल पुगेर काम सकेर आधाबाटो सम्म फर्केर वास बसेको छु । त्यो सम्झना निकै गाढा छ । खरदारको नियुक्ती लिएपछि म घरेलुको तालिमा काठमाडौँ आएँ । घरेलुको तालिम पछि मलाई जुम्ला पठायो । तर पहिले देखि गाउँमा नाटकहरु गर्दै आएकाले मलाई नाटकको भुत चढिसकेको थियो । ०४५ सालदेखि नै गाउँमा नाटकहरु गर्दै आइएको थियौँ । के को जागीरमा जानु थिएटर पो जान थालियो । हिरो हुने मन थियो केको जागीर एकवर्षपछि छाडियो । जागीर छाडेर व्याचलर पढ्न थालियो । अभिनयमा लागियो । हिरो हुनुका लागि चाहिने अत्यावश्यक कुरामध्ये पैसा, उचाई जस्तो कुराको अभाव रहेछ उसै त त्यो राजेश हमालको जमना थियो । त्यसैले हिरो भइएन ।   

नाटकमा रुचि चाँही कसरी बढ्यो ?
शुरुदेखी नै गाउँमा साानातिना नाटकहरु खेल्दै आएको म शहरमा पसेपछि धेरैवटा नाटकहरु हेर्न पुगे । जहाँ गएर नाटक हेरेँ त्यहाँ म आफुलाई पाउनै सकिन । यहाँ मञ्चन गरिने नाटकहरुमा मेरो माटोको कथा थिएन । मेरो सृष्टी अभिनय थिएन । मेरो अनुहार देखिन । मुलधारका भनिएका नाटकहरु रंगमञ्चमा प्रस्तुत हुँदा भारतवर्षको नाटक युरोपियन उपमहादिपका कथामा आधारित नाटकहरु मात्र प्रस्तुत हुने । भाषा नेपाली प्रयोग भएका तर सबै कथा विदेशी भएपछि मलाई फरक केही गर्ने तिब्र इच्छाशक्ति पलायो । हामीले हाम्रै माटोको नाटक किन नगर्ने भन्ने भएपछि मैले सुम्निमा पारुहाङको कथाहरुलाई खोज्न थाँले लेख्न थालेँ । 

नाटक लेखन, निर्देशन, र अभिनयको यो घडीसम्म आउनलाई मुख्य प्रेरणा के थियो र को थियो ? 
मैले अघि भनेँ यो क्षेत्रमा आउने मुख्य प्रेरणा मेरो माटो सुहाँउदो कथा अरुले नखोजिदिनु हो । मैले गाउँमा छँदै देखेका अभिनयहरुको संरक्षण नहुनु हो । अझैपनि गाउँमा (माङपा÷नक्छुङ)धामीहरुले गरेको अभिनयहरु कति राम्रो छ । मैले माङपाहरुको धेरै धेरै चिन्ता हेरेको छु । उनीहरुले पारुसेवा(शिलि÷नक्कल)ले मलाई तान्यो । बाल्यकालमा उनीहरुले गरेको यस्तो नक्कल खुब गरेको पनि यादछ । गोठालोमा जाँदा धामीहरुको नक्कल गर्ने शिकारी बोलाउने जस्ता अभिनय निकै गरियो खासमा यहि हो मेरो प्रेरणाको श्रोतहरु । गाउँमा हामीलाई नक्कल गर्नु हुन्न भनिन्थ्यो शहरमा आएपछि पनि झन गरियो । 

अब नाटकको बारेमा नै कुरा गरौँ । अहिले रंगमञ्चमा देखाईने नेपाली नाटकको ट्रेन कस्तो छ ?
अहिलेपनि नेपाली नाटकहरुमा खास परिर्वतन आएका छैनन् । हाम्रो आफ्नो माटोको सुगन्ध बोक्ने कथाहरु नेपाली नाटकमा लेखिएका छैनन् । नेपाली जनजीवनमा आधारित नाटकहरु मञ्चन हुनै सकेका छैनन् । हाम्रा थिएटरहरुमा विदेशी नाटकका अनुवादहरुलाई मञ्चन गरिने चलन रहि आएकै छ । नेपाली भाषानुवाद मात्र गरेर नाटकहरुको मञ्चन भईरहँदा नेपालीत्व भेटिन्न । यहाँका साना भन्दा साना समुदायको संस्कार संस्कृतिमा आधारित नाटकहरुको मञ्चन हुन नसक्नु दुर्भाग्य हो । अहिलेपनि हामी हाम्रो कथाहरुको खोजिमा रहेका छौँ । आफ्नो माटोको गीत गाउन नसक्दा परायाको नक्कल गरेरै धानिएको अहिले यो नाट्य क्षेत्रमा व्यापक सुधार हुन आवश्यक देख्छु म । 

नेपाली नाट्य क्षेत्रमा भर्खरै आउन चाहेका र आएकाहरुलाई के सन्देश छ ? 
उहाँहरुलाई खुल्ला हृदयले स्वागत गर्नु पर्छ भन्छु म । आउँदा विदेशी नाटकहरुको भुत बोकेर नआउनु राम्रो । आफ्नै माटो, भुगोल र जीवनका कथाहरुमा नाटक बनाउने दृडताका साथ आउनु होस । अन्य कला क्षेत्र जस्तो यो क्षेत्र त्यति कमाउ हुने क्षेत्र होइन । तर तँपाईको क्यारियर बन्छ । समाजको सहि विश्लेषण गर्न सक्ने बन्नु हुने छ । अभिनय के हो भन्ने कुरा बुझ्नु हुने छ । साहित्यको एउटा साँच्चै महत्वपूर्ण विधा नाटक रोज्नु भयो भने पक्कै राम्रो हुने छ । 

(रुपाकोट सामुदायीक रेडियो ९६.६ मेगाहर्जको साताको सम्वाद कार्यक्रमका लागि गरिएको कुराकानीको सम्पादित अंश) 
प्रस्तुती :- भिम राई

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post