sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » मेरो आदर्श ब्यक्तिलाई अन्तिम ‘जदौ’, जस्ले रेडियोमै थामिन हौसला दिनुभयो

–रामधन बेदना
    ‘सातदोबाटोको चोकैमा फुस्रो कमिज,सुरुवाल र कालो जरिकोटमा उभिएको हुन्छु । कपाल सेतै फूलेको एउटा बुढो मान्छे देख्नासाथ बोलाउनु ल बाबु त्यही बुढो मान्छे म हुनेछु है ।’  २०६४ साल ताका काठमाण्डौंमा उत्पादन भई खोटाङको रुपाकोट रेडियोबाट प्रशारण हुने कार्यक्रम ‘माटोको साईनो’मा भलाकुसारी गर्न ललितपुरको बाँडेगाउँस्थित एक स्टुडियोमा निम्त्याँउँदा आफ्नो हुलियाबारे यसरी बताउनुभएके थियो दाहाल यज्ञनिधिले ।     

उहाँको अन्र्तबार्ता लिन खोजेको म बिचराले तर, कसरी–कसरी उल्टो परेर मेरो चाहीँ उहाँले अन्र्तबार्ता लिनुभएको जस्तो सुनिएको प्रतिक्रिया थियो श्रोताको । यस्तो लाग्छ की मैले उहाँलाई केही सोध्नै परेन बरु उहाँले पो मलाई धेरै कुरा सोध्नुभो । नजानिँदो मेसोमा एक घण्टाको समय मैले उहाँको सही थाप्न र उहाँकै प्रश्नको जवाफ दिनमा ब्यतित गरेँ । कुरा गर्दा गर्दै गीत गाई पठाउनुहुन्थ्यो । गीत गाउँदा–गाउँदै गम्भिर प्रशंग निकाल्नुहुन्थ्यो । बिषयलाई रसिलो र कसिलो बनाउनमा उहाँलाई कस्ले सक्ने र ? 

उखान टुक्का, लय, संगीत अरे वा ! म फुच्चेलाई त के भयो के । अझै राम्ररी याद छ की भलाकुसारीकै क्रममा मलाई राई जातिको मृत्यु संस्कारको बारेमा स्पष्ट पारिदिनुभएको थियो । खाल्लेको ‘खाँटी’ बाल्यकालदेखि अनामनगरस्थित ‘दाहालको दैलो’ सम्मको कथा, जीवन भोगाई, अनुभव, दुखम–सुखम सुनाउनुभाथ्यो ।
 ‘काजीमा रामराम, घर हाम्रो सिरिसे बाम्राङ ..’ कुराकानीकै क्रममा सलल–सलल सिम्प्ली खोला बगे जसरी झर्रो शब्दमा गीत बनेर बग्नुभएको थियो । घरी भावुक बनेर जीवन संघर्षको तीतो अनुभूति ओकल्नुहुन्थ्यो । घरी केटाकेटी जस्तो फुरुक्क परेर जीवनले संगालेको खुसीको भकारी देखाउनुहुन्थ्यो । उहाँले गीतबाटै प्रशंगको उठान र बैठान गर्दा कम्ता मज्जा लाग्थेन । 

एक घण्टामा आफुले गरेको बिद्रोहको कथादेखि समाजमा गरेको त्यागको कहानी समेत खोतल्नुभयो । रेडियो नेपालको कार्यक्रम ‘साहित्य संसार’को दलन खोल्दा बोल्नुहुने ‘जदौ’ शब्दबारेको स्पष्टीकरण समेत उहाँले स्वस्फुर्त रुपमा दिनुभएको थियो । यज्ञनिधी दाहाल नभई किन दाहाल यज्ञनिधी ? उहाँको सटिक जवाफ थियो–‘म जन्मँदा दाहाल भएर जन्मेँ । ७ दिनपछि मात्र यज्ञनिधी बनाईएको हुँ ।’

हो उहाँसँग प्रस्तोताको रुपमा ६० मिनेट भलाकुसारी गर्दा ६० भन्दा बढी महत्वपूर्ण कुराहरु सिक्न र बुझ्न पाएको थिएँ । हालसम्म सय जनासँगको हाराहारीमा रेडियो कुराकानी गरेँ हुँला तर त्यो एक कुराकानी मेरो मानसपटलमा स्वर्णिम सम्झना बनेर रहिरहेको छ, रहिरहनेछ । लयात्मक–गेयात्मक, आरोह–अवरोह सहितको उहाँको कुराकानी गर्ने शैली मेरो निम्ति आदर्श बनेको छ । 

म जस्तो फुच्चेसँग पनि ठालु नपल्टि कुराकानी गरिदिदाँ म फुरुक्क पक्कै परेकै हो । मैले फोनमार्फत कुराकानीको लागि अनुरोध गर्दा बुढेसकालको त्यही पनि उति ख्याती कमाउनुभएको मान्छे अनामनगरदेखि गोदावरी नजिक रहेको बाँडेगाउँसम्म पुगिदिनु भनेको के ख्यालठट्टा हो र ? साँच्चै भनुम न त्यो कुराकानीबाटै मलाई रेडियोमा बोल्न सक्छु र जोसँग पनि अन्तर्बार्ता वा भलाकुशारी गर्न सक्छु भन्ने आत्मबिश्वास बढेको हो । मलाई भननुभएको थियो–‘किरातीको छोरो, मुख रामै्र लाग्दोरहेछ । गरिखानुहुन्छ हौ बावु, साह्रै खुशी पो लाग्यो त ।’ आशा पनि ओछ्याउनुभएको थियो–‘हो अव गर्ने भनेको तपाईंहरुले नै हो ।’ रुपाकोट रेडियो र म फुच्चेमाथि देखाउनुभएको मायाँ र सद्भावको खै कसरी बर्णन गरुँ ?

कसिलो शब्द चलाउनुहुने अर्का आदर्णिय दाई कृष्ण आचार्यले लेख्नुभएको छ– ‘खोटाङको मात्र होइन, नेपालकै वरिष्ठ साहित्यकार नेपाली भाषाको चुरो पहिल्याएर प्रस्तुत गर्न सक्ने प्रखर रेडियोकर्मी र जनवोलीलाई समकालीन साहित्यमा मुछेर उद्घोषण मार्फत श्रोतामाझ सहजै पस्किन सक्ने पारखी दाहालको चोला उडेछ ।’
म अरु किन लेखिरहुँ । हदै स्तब्ध बनेको यो घडीमा अन्र्तमनदेखि ‘जदौ’ । नेपाली साहित्य र रेडियो जगतमा यहाँको सम्झना र सम्मान रहिरहनेछ । हरेक नेपालीको मनको दैलोमा यहाँको उपस्थिती रहिरहनेछ । हार्दिक श्रद्दाञ्जली । श्रद्दाका साथ अन्तिम ‘जदौ’ ।


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post