sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » शिक्षाको तिर्खा : ७५ बर्षीया बृद्दा एक कक्षाको विद्यार्थी


रामधन राई/खोटाङ
भदौ–१३, कक्षा–एकका विद्यार्थी जुरीमायाँ राईलाई आफ्ना सहपाठीका कारण अक्षर विग्रनेमा पिरलो हुन्छ । ७५ वर्षिया जुरीमायाँले कक्षामा लेखपढ गरिरहँदा ३ देखि ८ बर्षसम्मका पनाती–पनातिनी (नातीको बच्चाहरु) सरहका सहपाठीहरु उहाँतिरै झ्यामिरहेका हुन्छन् । ‘यिनीहरुले हल्लाईदिएर मेरो अक्षर नै विगारिदिन्छन् के ।’ जुरिमायाँ उति झिँजो त मान्नुहुन्न तर पनि केटाकेटीलाई नियन्त्रण गर्न सकिन्छ की भनेर आफ्नै दुमी राई लवजमा हर्कानुहुन्छ–‘तिम्हारलाई मार्दिन्छु है म त फेरि, चकचक नगरी बस न हन !’ तर एक कक्षाको बालबच्चा न हुन् चाला उस्तै ।

 ‘मलाई त झिजो हुन्दैना, म हाकारिम् दिन्छु झिजो गर्छन् भने अनि, हजुरआमा भन्छन्, बजु भन्छन् ।’ वसेर लेख्दा वच्चाहरुले हल्लाईदिने हुनाले उहाँ उभी–उभी लेख्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘गर्छन् नै डिस्टव त तर बानी भएछ अव त केई जस्तो लाग्दैन सर !’ 
   बिक्रम सम्बत २००१ साल साउन ८ गते विहिबार जन्मनुभएको खोटाङ बाक्सिलाकी जुरीमायाँ राई २०७५ साल साउन ६ गते आईतवार कक्षा एकमा भर्ना हुनुभएको हो । केपिलासगढी गाउँपालिकामा पर्ने वाक्सिलाकी राईले लेखपढ गर्ने अधुरो धोका पूरा गर्न दिक्तेलवजारस्थित सरस्वती माविमा भर्ना हुनुभएको हो । उहाँको रोल नम्बर ३१ रहेको छ ।

तीन बर्ष अघि वित्नुभएको जुरीमायाँको श्रीमान पूर्व व्रिटिस लाहुरे हुनुहुन्थ्यो । जुरीमायाँको जमानामा पढ्ने र पढाउने कुरै नभए पनि श्रीमानसँग पल्टन(मरक्का)मा रहँदा पढ्न सूरु गर्नुभएको थियो । तर त्याहाँ बसेको एक महिना वित्न नपाउँदै हङकङ सर्नुपरेको कारण उहाँको पढ्ने धोको अधुरै रहेको थियो । सोही अधुरो धोको पूरा गर्न उहाँ अहिले एक कक्षाको विद्यार्थी बन्नुभएको छ । 

 एक बर्षदेखि दिक्तेलवजारमा कोठा भाडामा लिएर एक्लै वसोवास गर्दै आउनुभएको जुरीमायाँको धोको किताव पढ्न सक्ने र लेख्न सक्ने बन्नु रहेको छ । विद्यालयमा वाह्रखरी र अंकहरु सिक्दै गर्नुभएको वृद्दा राईलाई वाईवल पढ्न सक्ने वन्नु छ । क्रिस्चियन धर्मावलम्वी राई भन्नुहुन्छ–‘सेवामा जान्छु, कहिलेकाहीँ नवुझेको कुरा सोध्दा हल्ला भयो भन्छन् ।’ उहाँको अनुसार नवुझेको कुरा आफैले पढेर वुझ्न सक्ने हुनुपर्ने छ । त्यसैले उहाँ विद्यालयको नियमित विद्यार्थीको रुपमा विहान १० वजेदेखि वेलुकी ३ः२० सम्म सरस्वती माविको कक्षा–एकभित्रै रहनुहुन्छ । 

आफ्नो कोखवाट सन्तान नभएपछि कान्छी श्रीमतिको रुपमा उहाँको श्रीमानले अर्को विवाह गर्नुभएको थियो । कान्छीतर्फवाट जन्मेको ४ छोरी र दुई छोराले पनि राम्रो नपढेकोमा शिक्षाप्रेमी जुरीमायाँको गुनासो छ । श्रीमानको तीन बर्ष अघि मृत्यु भईसकेको छ । छोराछोरी सवैले आ–आफ्नै लय समातिसकेका छन् । श्रीमानको पेन्सन जेठी–कान्छीले आधा–आधा थाप्ने सर्तमा दुवै छुट्टाछुट्टै रहेका छन् । 

नाती–नातिनीलाई धेरै पढेको हेर्न चाहाने जुरीमायाँ मसिना बालवच्चासँगै वसेर सिक्न पाउँदा खुशी लागेको वताउनुहुन्छ । शिक्षकहरुसँग कुनै अप्ठ्यारो नमान्नुहुने उहाँ कक्षाकोठातिर देखाउँदै भन्नुहुन्छ–‘मलाई त यहाँ आनन्द छ , एकदमै खुशी छु ।’ अहिले उहाँले अंक जोड्न, अक्षर पढ्न र सार्न समेत सक्नुहुन्छ । उहाँ विहान वेलुकी खाना पकाउने, खाने अनि वाँकी रहेको समयमा लेख्न,पढ्न सिक्नुहुन्छ । ‘अलिअलि त पढ्न सक्छु जस्तो लाग्दैछ ।’ हँसिलो मुद्रामा सुनाउनुहुन्छ । 

जुरीमायाँले एक महिनाको अवधीमा नै निक्कै प्रगति गर्नुभएको विद्यालयका शिक्षक नुरकाजी सैंजुको भनाई छ । अध्ययनमा रुचि तथा चासो र नियमित उपस्थितीका कारण छोटो समयमा नै उहाँले लेखेको सार्न, तथा अंकहरु जोड्न सक्ने हुनुभएको कक्षा शिक्षक सैंजुले जनाउनुभयो । सैंजुका अनुसार बृद्दा राईले पढ्नमा भोक जगाईदिनका लागि शिक्षकहरुलाई आग्रह गर्ने गर्नुभएको छ ।

‘मेरो आमा ७८ बर्षमा खस्नुभएको, ७५ बर्षको आमालाई पढाउन पाउँदा गर्व लागिरा’छ, धर्म पनि कमायौं की भन्ने लागिरा’छ ।’ शिक्षक सैंजुले भन्नुभयो–‘यो हामी सबैको गौरवको कुरा हो ।’
सरस्वती मावि पछिल्लो समय शैक्षिक, भौतिक लगायत विभिन्न हिसावले जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post